अब शिक्षा र स्वास्थ्यमा पनि प्रविधिको प्रयोग गरिन्छः प्रधानमन्त्री

काठमाण्डु टुडे २०७६ असार ४ गते १५:०२ मा प्रकाशित

काठमाण्डु, ४ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन सुरु गरिएको बताएका छन् ।

कलंकीमा बुधबार नमुना मालपोत कार्यालय घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र सेवाको काममा प्रविधिको प्रयोग गरेर जनतालाई छिटो र छरितो सेवा दिइने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘अब मालापोतमा मात्र होइन, शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गरिनेछ ।’ प्रधानमन्त्री ओलीले अबको दुई वर्षभित्रमा देशका सबै मालपोत कार्यालयका ढड्डाहरु, पुराना लिखतहरु ‘डिजिटलाइज्ड’ भइसक्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगले थोरै जनशक्तिबाट धेरै काम लिन सकिने, उत्पादन र उत्पादकत्व वृद्धि गरिने र सबै काम पारदर्शी हुनेमा जोड दिए ।

‘नेपाललाई आधुनिक दिशातर्फ अघि बढाउनका लागि प्रविधिको ठूलो भूमिका छ । ‘समृद्ध नेपाल, सुखी नेपालीको सफल बनाउन पनि प्रविधिमैत्री भएर काम गर्नुपर्दछ,’ ओलीले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us