
काठमाण्डु, ४ असार – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद लालबहादुर थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको राजीनामा माग गरेका छन् ।
मन्त्रालयको बजेट विनियोजन तथा योजना वितरणमा मन्त्री महासेठले आफ्नो जिल्ला धनुषालाई मात्रै प्राथमिकता दिएको भन्दै मन्त्रीलाई अनुशासनको कारबाही गर्नुपर्ने पनि प्रस्ताव गरेका छन् । मन्त्रीले योजना माग्दा हप्काएको भन्दै सांसद थापाले संसदमा आक्रोश पोखे ।
उनले भने, ‘हामीले मन्त्रीलाई हेर्नै नहुने भयो । मन्त्री अब्बल दर्जाको जनप्रतिनिधि हुने भयो । योजना माग्दा मन्त्रीबाट हप्की खानुपर्ने भयो । महाराज मलाई नहप्काइस्योस् भन्नुपर्ने अवस्था आयो ।’
धनुषा घर भएका मन्त्री महासेठले उक्त जिल्लामा रणनैतिक योजना मात्रै ७९ वटा राखेको तथा पक्कि पुलका ५९ योजना राखेको थापाले बताए । उनले बाजुरा लगायत २० हिमाली जिल्लामा नयाँ पुल नपरेका बताए ।
थापाले भने, ‘१६५ निर्वाचन क्षेत्र छन् भन्ने हेक्का नगर्ने ? मन्त्री भएपछि आफ्नो क्षेत्र र जिल्लामा मात्रै केन्द्रित हुने ? मुलुकको मन्त्री हुन नसक्ने ? विगतदेखिको प्रचलन समाप्त हुन्छ भन्ने लागेको थियो तर भएन । पूर्वाग्रही व्यवहार गर्ने मन्त्री र राज्यको स्रोतलाई मनलाग्दी आफ्नो क्षेत्रमा मात्रै लैजाने मन्त्रीलाई अनुशासनको कारबाहीको विषय बनाउनुपर्छ र पदमुक्त गर्नुपर्छ ।’
सांसद थापाले मन्त्रालयले दिएको योजनाको पुस्तक मन्त्री महासेठलाई नै फिर्ता गरिदिएका थिए ।