नेकपा सचिवालय बैठकः ओलीविरुद्ध जाइलागे माधव नेपाल

काठमाण्डु टुडे २०७६ जेठ २४ गते ७:०१ मा प्रकाशित

काठमाण्डु, २४ जेठ– सत्तारुढ नेकपामा केन्द्रीय नेताहरूलाई दोहोरो जिम्मेवारी दिनुपर्ने प्रस्तावले विवाद बढाएको छ । सचिवालयमा प्रस्तुत प्रस्तावमा विमति जनाउँदै वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीलाई कडा टक्कर दिएका छन् ।
सचिवालय बैठक तीन दिन बसे पनि जिल्ला इन्चार्ज र सहइन्जार्च तोक्न नेकपा असमर्थ बनेको छ । अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले भूगोलका ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्जका लागि प्रस्ताव गरेका नाममा नेता नेपालले असहमति जनाएका छन् ।ओली र प्रचण्डले बिहीबार बिहान पनि नेपालसँग सहमति प्रयास गरेका थिए । छलफलमा ओली र नेपालबीच भनाभनै भएको स्रोत बताउँछ। ‘कतिपय साथीहरूले दोहोरो जिम्मेवारी पाइसके । त्यसलाई मान्ने, अहिले हुँदैन भनेर हुन्छ ?’, ओलीले नेपालसँग आक्रोश पोखे ।
नेपालले राज्यसत्ता र पार्टीको स्रोतसाधन प्रयोग गरी गुट चलाउन आफ्ना मान्छेलाई जिम्मेवारी दिन खोजिएको आरोप लगाए । ‘कुन मापदण्डअनुसार प्रस्ताव ल्याउनुभयो, के तपाईंको गुटको भए पुग्यो ? गुटलाई बलियो बनाउन राज्य र पार्टी दुवैको स्रोतसाधन प्रयोग गर्ने ?’, नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘एकथरी साथीहरू दोहोरो, तेहरो जिम्मेवारीमा बस्ने, एकथरी साथीहरु खाली हात बस्ने कुरा मिल्दैन ।’ अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us