जरिवाना पुनरावलोकन गर्न गूगलको अपिल

काठमाण्डु टुडे २०७६ जेठ २३ गते ११:११ मा प्रकाशित

ब्रसेल्स, २३ जेठ – अमेरिकी सर्च इन्जिन गूगलले यूरोपेली संघ (ईयू) ले लगाएको १ अर्ब ७० करोड डलर जरीवाना पुनरवलोकन गर्न अपिल गरेको छ । अनलाइन विज्ञापनमा प्रतिस्पर्धाको नियम पालना नगरेको भन्दै गूगललाई ईयूले जरीवाना लगाउने निर्णय गरेको थियो ।

गत मार्चमा ईयूका अधिकारीले गूगलमाथि एकाधिकारको तेस्रो जरीवानाको निर्णय गरेका थिए । अनलाइन विज्ञापनमा गूगलले गरेको अभ्यास अवैध रहेको ईयूको ठहर थियो ।

बुधवार गूगलले ईयूको उक्त निर्णय पुनरवलोकनको माग गर्दै अदालतमा मुद्दा दायर गरेको जानकारी दिएको हो । यूरोपेली कमिशनका प्रवक्ताले कमिशनले यो मुद्दामा अदालतमा आफ्नो बचाउ गर्ने बताएका छन् ।

सन् २०१७ यता ईयूले एकाधिकारको अभ्यास गरेको भन्दै गूगललाई झण्डै ८ अर्ब डलरको जरीवाना गरिसकेको छ । कम्पनीले भने यसमा पनि पुनरवलोकनका लागि अपिल गरेको छ । पछिल्लो समय गूगलमाथिको नियमन विश्वभर बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us