
जुम्ला, २३ जेठ – जुम्लाको तिला गुफा नगरपालिकाका ६२ वर्षीय भक्तबहादुर बोगटी जुम्लास्थित कर्णाली प्रतिष्ठान अस्पतालमा पाँच वर्षीय छोरा विशाल बोगटीको उपचारमा छन् ।
घरनजिकैको स्कूल जाँदै गर्दा बाटोमा जङ्गली फल मचैनो खाँदा बिरामी भएका छोराको स्वास्थ्य अवस्था निकै चिन्ताजनक भएपछि उनी अस्पताल पुगेका हुन् ।
अस्पताल पुग्नेवित्तिकै बोगटीले डाक्टरलाई भने, ‘यो मेरो एक्लो छोरा हो । जसरी पनि बचाइदिनुुस् डाक्टर’साब । यो छोरो रहेन भने म पनि रहनेछैन ।’
बोगटीले छोराकै आशमा सात छोरी जन्माए । छोराको आसमा सात छोरी जन्माएको कथा सुनाउँदा उपचारमा संलग्न चिकित्सक दङ्ग परे ।
चिकित्सकले उपचार शुरु गरे । उपचारपछि उनका छोराको स्वास्थ्य अवस्था सुध्रँदै गइरहेको छ । ‘अहिले खेल्न र बोल्नसक्ने भएको छ’, बोगटीले भने, ‘कर्णाली अस्पताल हुँदैनथ्यो त छोरो हुँदैनथ्यो, छोरो नहुँदा म पनि यो संसारमा हुन्नथेँ होला, छोरो बाँचेकामा धेरै खुशी छु ।’
बोगटीका छोराको सघन उपचारकक्षमा उपचार भइरहेको छ । उनका अनुसार छ छोरी जन्मिसकेपछि सातौँ पटक छोरा जन्मिएको हो ।
‘छोराभन्दा पछाडि फेरि एउटी छोरी जन्मिएकी छे’, बोगटीले भने, ‘यो समाज छोरा जन्मेकामा उत्सव मनाउँछ, छोरी जन्मेकामा घृणा गर्छ । समाजकै लागि भए पनि छोरा खोजेको हुँ । छोराकै आसमा सात छोरी भए । बीचमा भाग्यवश जन्मेको यो छोरा बचाउन खुब प्रयन्त गर्दैछु ।’
उनका छ छोरीको विवाह भइसकेको छ । कान्छी छोरी, एक छोरा र श्रीमती मात्र साथमा छन् । ‘समयमै छोरा जन्मिएको भए लालनपालनमा राहत मिल्थ्यो होला,’ बोगटीले भने, ‘छोरी भए, अर्काको घर गए, एक्लो बनाए । अहिले सहाराविहीनझैँ छु ।’
कर्णाली प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले छोराको आसमा सात छोरी जन्माएका उनले एक्लो छोरा बचाउन गरेको हारगुहारले अस्पतालको ध्यान केन्द्रित भएको बताए ।
उनले भने, ‘जङ्गली फल खाँदा त्यसको असर दिमागमा परेको देखियो । छोरो छटपटाउन थाल्यो । बाबु उपचारका लागि रोइकराइ गर्न थाले । तर बिहानै निको भएर छोरा बोल्न थालेपछि मुहारमा खुशी देखियो ।’
सात छोरीको बीचमा जन्मिएको छोरो बिरामी हुँदा घरपरिवारमा निकै रुवावासी चलेको बोगटी बताउँछन् । ‘निको भएर घर फर्कुंला भन्ने आस थिएन’, उनी भन्छन्, ‘अब छोरा निको भएपछि खुशीसाथ घर फर्कंदै छु । छोराको उपचार हुन नसकेको भए म घर फर्कने थिइनँ । अब खुशीका साथ फर्कन्छु, छोराले पुनःजन्म पायो !’ रासस