नेपाल एयरलाइन्सको जापान उडान स्थगित

काठमाण्डु टुडे २०७६ जेठ २२ गते १७:४२ मा प्रकाशित

काठमाण्डु, २२ जेठ – नेपाल वायुसेवा निगमले यात्रु नपाएको भन्दै तत्कालका लगि जापान उडान स्थगित गरेको छ ।

आगामी जुलाई ४ अर्थात् असार १९ बाट ओशाकाको कान्साइ अन्तर्राष्ट्रिय एयरपोर्टमा निगमको वाइडबडीले उडान भर्ने तालिका थियो । तर, बुकिङ खोलेको एक महिनासम्म पनि राम्रो संख्यामा यात्रु नपाएपछि तत्काल जापानमा उडान नथालिने भएको हो ।

‘जापानमा विद्यार्थी जाने सिजन जुन महिनामै सकिएको छ । साथै नेपाल आएका जापानिज पर्यटक पनि लगभग फर्किसकेका छन्,’ निगममा प्रवक्ता नवराज कोइरालाले भने, ‘यसै कारण टिकटको बुकिङ राम्रो आएन ।’

उनले यात्रु नै नभरी उडान गर्दा वित्तीय संकट आउने अवस्था रहेकाले तत्काल जापानमा सोव नथाल्ने निश्कर्षमा पुगेको बताए ।

उनले अगस्टको अन्तिम र वा सेप्टेम्बर महिनाबाट भने जापानमा उडान थाल्नेबारे छलफल भइरहेको बताए । नेपाल एयरलाइन्सले जापानको नारिता विमानस्थलमा उडान थाल्ने गरी प्रक्रिया अघि बढाइरहेकाले सेप्टेम्बरसम्म सबै विषय टुंगो लाग्ने कोइरालाले बताए ।

नेपाल एअरलाइन्सले काठमाण्डु–ओसाकाको एकतर्फी भाडा ४५ हजार र दुईतर्फी भाडा ७७ हजार रुपैयाँ तोकेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us