
काठमाण्डु, २२ जेठ – जिल्ला अदालत काठमाण्डुले हिन्दी फिल्म ‘भारत’लाई बुधबार नै नेपाल रिलिज गर्न दिन अन्तरिम आदेश जारी गरेपछि सिनेमा रिलिजको ‘बार’ विवाद फेरि चुलिएको छ ।
नेपालमा विभिन्न संघसंस्थाको सहमतिमा शुक्रबार मात्रै फिल्म रिलिज गर्ने सहमति भएको थियो । विदेशी तथा नेपाली सबै फिल्म सहमतिमा शुक्रबार रिलिज हुँदै आएका थिए तर अदालतको पछिल्लो आदेशले विदेशी फिल्म जुनसुकै बार रिलिज गर्न पाउने बाटो खुला भएको छ ।
शुक्रबार मात्र फिल्म रिलिज गर्न दिने बोर्डको निर्णयविरुद्ध जिल्ला अदालतमा वितरण कम्पनी ब्यांकटेस् इन्टरटेनमेन्टका तर्फबाट मनोज राठीले रिट दायर गरेका थिए । अदालतले स्वतन्त्र व्यवसायमाथि हस्तक्षेप नगर्नसमेत चलचित्र विकास बोर्डलाई सचेत गराएको छ । यसअघि हिन्दी फिल्म ‘कलंक’ पनि बुधबार नै रिलिज गर्न खोज्दा विकास बोर्डको पहलमा शुक्रबार मात्रै रिलिज गर्न दिइएको थियो ।
अदालतको आदेशपछि सलमान खान स्टारर हिन्दी फिल्म ‘भारत’ बुधबारदेखि नेपालमा पनि रिलिज हुँदैछ । यसको असर रिलिज भएका नेपाली फिल्ममा पर्नेछ । नेपाली फिल्म ‘जात्रै जात्रा’ र ‘कुम्भ करण’का सोहरू मल्टिप्लेक्सबाट कटौती हुनेछन् । यसैबीच चलचित्र निर्माता संघले विज्ञप्ति जारी गर्दै वितरकले जुनसुकै बार विदेशी चलचित्र रिलिज गर्न दिएको आदेशप्रति असन्तुष्टि जनाएको छ ।
संघका महासचिव रोज राणाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘नेपालका चारवटा ठूला चाडपर्व (दसैं, तिहार, तीज र नयाँ वर्ष)का निश्चित बिदाका दिनबाहेक अन्य मितिमा अनिवार्य रूपमा शुक्रबार मात्र फिल्म प्रदर्शन गरिनुपर्ने नियम र पद्धति छ । शुक्रबारअगावै विदेशी फिल्म प्रदर्शन गर्ने सम्पूर्ण प्रक्रिया पूरा गरेको सुन्नमा आएको हुँदा यस विषयमा संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’