मानसरोवर जाने यात्रुबाट उठ्यो आठ लाख राजश्व

काठमाण्डु टुडे २०७६ जेठ १० गते ११:२४ मा प्रकाशित

हुम्ला, १० जेठ – कैलाश मानसरोवर दर्शनका लागि भारतीय तीर्थयात्री सिमकोटमा भित्रिन शुरु भएको छ । हुम्लाको सिमकोट–हिल्सा नाका हुँदै बर्से्नि हजारौँ तीर्थयात्री कैलाश मानसरोवर दर्शन गर्नका लागि हुम्ला पुग्छन् ।

पहिलो दिन शनिबार हवाईमार्गबाट नेपालगञ्ज हुँदै ७१ भारतीय तीर्थयात्री सिमकोट पुगेका थिए । शनिबारदेखि बिहीबारसम्म नेपालगञ्ज हुँदै कैलाश मानसरोवर दर्शन यात्राका लागि सिमकोटमा ३३२ महिला र ४०१ पुरुष गरी ७३३ भारतीय तीर्थयात्री हुम्ला पुगेका छन् ।

 सिमकोट गाउँपालिकाले गएको वर्षदेखि हुम्लाको सिमकोट हुँदै हिल्सा नाका पार गर्ने तीर्थयात्री र बाह्य पर्यटकबाट प्रतिव्यक्ति एक हजार १०० रुपैयाँ उठाउने गरेको छ । छ दिनमा हुम्ला भित्रिएका ७३३ भारतीय पर्यटकबाट सिमकोट गाउँपालिकाले आठ लाख छ हजार ३०० रुपैयाँ राजस्व सङ्कलन गरेको सिमकोट गाउँपालिकाबाट विमानस्थलमा राजश्व सङ्कलन गरिरहेका दीपेन्द्र भण्डारीले जानकारी दिए ।

भारतीय तीर्थयात्री सिमकोट हुँदै कैलाश मानसरोवर दर्शन गराउने जिम्मा लिएको ट्राभल एजेन्सीले अहिले पैसा नदिएको तर आठ लाखभन्दा बढी राजश्व सङ्कलन भएको भण्डारीले बताए । गाउँपालिकाले बाह्य पर्यटकबाट उठेको राजस्व गाउँपालिकामा लगानी गर्ने जानकारी दिएको छ ।

सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाले बाह्य पर्यटकबाट उठेको राजश्व ६०/४० गरेर दुई गाउँपालिकाले रकम बाँडफाँड गर्ने निर्णय भएको सिमकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिए । दर्जीका अनुसार बाह्य पर्यटकबाट उठेको राजश्व रकमबाट ६० प्रतिशत पाउने भएको छ भने नाम्खा गाउँपालिकाले ४० प्रतिशत राजश्व पाउने भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us