लगानीमैत्री वातावरण बनाउन निजी क्षेत्रको माग

काठमाण्डु टुडे २०७६ वैशाख २६ गते १४:४६ मा प्रकाशित

काठमाण्डु, २६ वैशाख – निजी क्षेत्रले लगानीमैत्री वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले लगानीमैत्री वातावरण बनाउन सरकारसँग माग गरेका हुन् । सरकारले नीतिगत तथा कानुनी व्यवस्था नगरेकै कारण मुलुकमा लगानीको वातावरण बन्न नसकेको उनको दावी छ ।

संघीय संसदको अर्थ समितिले बिहीबार काठमाण्डुमा आयोजना गरेको आगामी आर्थिक वर्षको ‘प्रि बजेट’ छलफल कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अग्रवालले आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार विकासमा पनि जोड दिनुपर्ने आवश्यक्ता औंल्याए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिन सरकारलाई सुझाव दिए ।

उनले कृषि क्षेत्रले तत्काल लाभ दिने भएकाले पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा त्यसका लागि आवश्यक जमिनको उचित व्यवस्था हुने प्रबन्ध पनि गर्नुपर्ने स्पष्ट पारे ।

महासंघले बैंकको उच्च ब्याजदर घटाएर उद्योगमैत्री वातावरण बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पनि सरकारलाई सुझाव दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us