
काठमाण्डु, २० वैशाख – नेपाल वायुसेवा निगमले ६१औं वर्ष प्रवेशका साथै जापानको ओसाका नियमित उडान पुनः प्रारम्भ गर्ने भएको छ ।
असार १९ गते (जुलाई ४ तारिख) देखि नेपाल वायुसेवा निगमले ओसाकाको नियमित उडान प्रारम्भ गर्ने भएको छ । अहिले निर्धारित उडान तालिका अनुसार हप्ताको तीन वटा उडान मंगलबार, बिहीबार र शनिवार हुनेछ ।
काठमाण्डुबाट बिहान २ बजेर ३० मिनेटमा ओसाकाका लागि उडेको विमान स्थानीय समय अनुसार दिनको ११ बजेर ५५ मिनेटमा ओसाका पुग्नेछ र ओसाकाबाट स्थानीय समय अनुसार १ बजेर ५५ मिनेटमा उडान गरी सोही दिन अपरान्ह ६ः०० बजे काठमाण् डुआइपुग्ने कम्पनीले जानकारी दिएको छ । ओसाकाको सबै उडानहरु वाइड्वडी ए३३०–२०० बाट हुने छन् ।
यस अघि सन् २००७ सम्म निगमले चीनको सांघाई हुँदै ओसाकासम्म उडान गर्दै आएको थियो र तत्कालिन समयमा विमानको कमीका कारण सन् २००७ मा स्थगित भएको थियो ।
निगमको गृष्मकालीन तालिका अनुसार काठमाण्डु–ओसाका र ओसाका काठमाण्डु उडान एक तर्फी करिव ६ घण्टा ३० मिनेटको हुनेछ । दोश्रो चरणमा जापानको व्यस्त विमानस्थल नारितामा समेत नियमित उडान गर्ने योजना बनाई तदनुरुप प्रक्रिया अगाडि बढाइएको कम्पनीले जनाएको छ ।
नारितामा उडान शुरु गरेपछि दुवै गन्तव्यका लागि हप्तामा दुई–दुई वटा उडान गर्ने योजना रहेको निगमले जानकारी दिएको छ । काठमाण्डुबाट ओसाकाको एकतर्फी भाडा ४५ हजार लाग्ने यसअघि नै निगमले जानकारी दिइसकेको छ ।