
काठमाण्डु, १७ बैशाख – दक्षिण कोरियन कम्पनी हुण्डाईको गाडी नेपालमै ‘एसेम्बल’ गर्ने तयारी थालिएको छ । गाडी एसेम्बल गर्न लक्ष्मी मोटर कर्पोरेसन प्रालिले गत बैसाख ८ गते उद्योग विभागमा दर्ता गरेको हो ।
हाल नेपालमा लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाईको गाडी विक्री वितरण गर्दै आएको छ । लक्ष्मी मोटर कर्पोरेसन लक्ष्मी इन्टरकन्टिनेन्टल अन्तर्गत पर्छ । नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर–६ मा एसेम्बल प्लान्टले वार्षिक ८ हजार संख्यामा चार पांग्रे गाडी उत्पादन गर्ने लक्ष्यका साथ उद्योग विभागमा दर्ता गराएको छ ।
लगानीकर्ता निराकर श्रेष्ठ रहेको लक्ष्मी मोटर कर्पोरेसनको चुक्ता पुजीँ २ अर्ब १३ करोड ४० लाख रुपैयाँ छ भने प्लान्टमा ४ सय ४० जनाले रोजगारी पाउनेछन् ।