श्रीलंकाको सुरक्षाप्रणाली फेर्ने राष्ट्रपतिको घोषणा

काठमाण्डु टुडे २०७६ वैशाख ११ गते १४:३३ मा प्रकाशित

एजेन्सी । श्रीलङ्कामा तीन सयभन्दा बढी मानिसको ज्यान लिने र ५०० भन्दा बढी मानिसलाई घाइते तुल्याउने आक्रमणमा इस्लामिक स्टेट समूह आईएस संलग्न भएको हुन सक्ने त्यहाँका प्रधानमन्त्रीले बताएका छन् ।

रनिल विक्रमसिङ्घले देशबाहिर रहेका आतङ्कवादी समूहहरूको सहयोगबिना आइतवारका हमला हुन नसक्ने ठम्याइ सरकारको रहेको बताएका छन् ।

मङ्गलवार आईएसले ती आक्रमणको जिम्मेवारी लिएको छ । तर त्यो समूहले कुनै प्रमाण दिएको छैन् । श्रीलङ्का सरकारले ‘न्याश्नल तौहिद जमात’ नामक स्थानीय इस्लामिक समूहले आइतवारका घटना गराएको बताएको छ ।

तर विक्रमसिङ्घले ती आक्रमण स्थानीय प्रयासले मात्र सम्भव नहुने बताउँदै भने, ‘हामीले पहिला नदेखेको खालको तालिम दिइएको छ र त्यही किसिमको समन्वय गरिएको छ ।’

उनले सुरक्षा निकायले पनि आक्रमणकारीको विदेशी साठगाँठका बारे अनुसन्धान अघि बढाइरहेको बताए ।

प्रहरीले आक्रमणमा संलग्न भएको आशङ्कामा ४० जना श्रीलङ्काली नागरिकलाई पक्राउ गरिसकेको छ । देशमा थप आक्रमण हुन नदिनका लागि सङ्कटकाल लगाइएको छ ।

राष्ट्रपति मैत्रीपाल सिरिसेनाले टेलिभिजनमार्फत् राष्ट्रको नाममा सम्बोधन गर्दै देशको सुरक्षा निकायको पूरै पुनर्संरचना गरिने बताएका छन् ।

टेलिभिजनमार्फत् बोल्दै उनले २४ घन्टाभित्र देशका सुरक्षा र प्रतिरक्षा फौजका प्रमुखहरूको फेरबदल हुने जानकारी दिए ।

उनले सुरक्षा खतराबारेका आफूलाई कुनै जानकारी नदिइएको बताए । विस्फोटनका घटनाबारेका पूर्वसूचनाहरू छलफलमा ल्याउन नसकेकाहरू माथि कारबाही गरिने बताए ।

उनको यो भनाइसँगै त्यहाँ २४ घण्टाभित्र केही उच्च सुरक्षा अधिकारीहरूलाई सरकारले परिवर्तन गर्नसक्ने ठानिएको छ ।

श्रीलङ्कामा गृहयुद्धताका अपनाइएका कतिपय सुरक्षा मापदण्डलाई सरकारले फेरि अपनाउन चाहेको र जिल्लास्तरीय सुरक्षा समितिहरू बनाउन लागेको भन्ने समाचार आएको छ । सन् २००९ मा गृहयुद्ध समाप्त भएपछि श्रीलङ्कामा केही छिटपुट हिंसाका घटनाहरू हुने गरेका थिए ।

अल्पसङ्ख्यक तमिलहरूका लागि छुट्टै राज्य माग गर्दै २६ वर्ष युद्ध गरेको तमिल टाइगर्सलाई सरकारी फौजले हराएपछि त्यहाँको गृहयुद्ध सकिएको थियो । उक्त गृहयुद्धमा ७० हजार देखि ८० हजार मानिसहरू मारिएको ठानिन्छ ।

त्यो गृहयुद्धको अन्यपछि त्यहाँको बहुसङ्ख्यक बौद्ध सिन्हला समुदायका मानिसहरूले मस्जिदहरू र मुस्लिमहरूको स्वामित्व रहेका सम्पत्तिमा आक्रमण गर्ने गरेका खबरहरू आउने गरेका थिए ।

बौद्ध र मुस्लिम समुदाबीच हिंसा चर्किँदा गत वर्ष मार्चमा पनि त्यहाँ राष्ट्रिय सङ्कटकाल घोषणा भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us