
काठमाण्डु, ९ वैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले पार्टी एकता आफ्नो प्रस्तावअनुसार भएको बताएका छन् ।उनले पार्टी एकतालाई पूर्णता दिनका लागि २ पूर्व कमिटिहरुको संयोजन गर्ने र तीनै कमिटिका प्रमूखहरूले नेतृत्व गर्ने प्रस्ताव केन्द्रीय कमिटिको निर्णय गर्ने समयमा नै आफूले गरेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘पार्टी एकतालाई पूर्णता दिनका लागि २ पूर्व कमिटिहरुको संयोजन र तत्तत् कमिटिका प्रमूखहरुले नेतृत् वगर्ने प्रस्ताव कन्द्रीय कमिटिको निर्णय गर्ने समयमै मैले राखेको थिएँ । पछि पनि नेताहरुलाई प्रस्ताव गरेँ । आज १ वर्ष पुगेपछि उहाँहरुले एकता टुङग्याउन सोही विधि अवलम्बन गर्नु भएकोमा नेताहरुलाई धन्यवाद दिन चाहान्छु ।’
उनले पार्टी एकतामा भएको ढिलाइबाट हुन गएको क्षतीपूर्तिका लागि विधिसम्मत र इमानदारीताका साथ कडा मेहनत गर्न आवश्यक हुने बताए । आज पार्टी स्थापना दिवसकै दिन एकता टुंगिएकोप्रति खुसी व्यक्त गर्दै उनले कम्युनिष्ट आन्दोलनलाई माक्र्सवाद लेनिनवादसहितका विकसित विचारले नेतृत्व गर्ने र लेनिनवादी संगठनात्मक सिद्धान्त र विधि अपनाउँदै सबैले आ–आफ्नो नैतिक मूल्य स्थापित गर्न नेताहरुले जनता र आफ्नो वर्गप्रति उतरदायी हुनुपर्नेमा जोड दिएका छन् ।
उनले भनेका छन्, ‘कम्युनिष्ट आन्दोलनलाई माक्र्सवाद लेनिनवादसहितका विकसित विचारले नेतृत्व गर्ने र लेनिनवादी संगठनात्मक सिद्धान्त र विधि अपनाउँदै सबैले आ–आफ्नो नैतिक मूल्य स्थापित गरौं । जनता र आफ्नो वर्गप्रति उतरदायी हुन प्रतिबद्धता गरौं ।’ उनले पार्टी स्थापना दिवसको अवसरमा सबैमा शुभकामना तथा बधाई समेत व्यक्त गरेका छन् ।