पिपरा गाउँपालिका अध्यक्षको निधन

काठमाण्डु टुडे २०७६ वैशाख ८ गते १६:५९ मा प्रकाशित

गौशाला, ८ वैशाख – महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाका अध्यक्ष विनोद चौधरीको आज बिहान निधन भएको छ ।

छ दिनअघि अचानक बिरामी भई हेलिकप्टरमार्फत काठमाण्डु लगिएकामा ४५ वर्षीय चौधरीको आज उपचारका क्रममा काठमाण्डुमै निधन भएको राष्ट्रिय जनता पार्टी नेपालका महोत्तरी जिल्ला संयोजक रामप्रगास यादवले बताए ।

राजपाबाट पिपराका अध्यक्षमा निर्वाचित चौधरीको आज बिहान १० बजे काठमाण्डुको मेडिसिटी अस्पतालमा निधन भएको संयोजक यादवले बताए । अध्यक्ष चौधरीले निर्वाचित भएदेखि नै पटक पटक बिरामी भएर भारतको दिल्लीसम्म उपचार गराइरहेका थिए ।

छ दिनअघि पुनःएक्कासि बिरामी भएपछि उनलाई हेलिकप्टरमार्फत काठमाण्डु लगिएको थियो । चौधरीको शव जिल्ला ल्याउने तयारी भइरहेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us