बिर्तामोडको एकै पार्टी प्यालेसमा २० बेहुली !

काठमाण्डु टुडे २०७५ चैत २५ गते १७:४१ मा प्रकाशित

बिर्तामोड, २५ चैत्र – चैत महिनामा बिवाह नगर्ने मान्यता रहेपनि सोमबार बिर्तामोडको एक पार्टी प्यालेसमा बेहुली हेर्नेको ताँती थियो । एउटै हलमा २० जना बेहुली एकसाथ निस्कँदा बेहुला भने कोही थिएनन् ।

यी बेहुलीहरु बेहुला पर्खेर बसेका भने थिएनन् । उनीहरु त सौन्दर्य ब्युटिपार्लरको आयोजनामा भइरहेको ब्राइडल मेकअप प्रतियोगितामा भागलिन सजिएर बसेका थिए ।

एक महिनासम्म सौन्दर्य ब्युटिपार्लरमा श्रृंगार सम्बन्धि तालिम लिएका २० जना ब्युटिसियनहरुले २० जना मोडलहरुलाई बेहुली बनाएर प्रतियोगितामा भाग लिएको सौन्दर्य ब्युटिपार्लरकी सञ्चालिका उमा कट्वालले बताइन् । यस्ता कार्यक्रमले महिलाहरुलाई स्वरोजगार बनाउन सहयोग गर्ने र घरेलु हिंसा कम हुने उनको विश्वास छ ।

ब्राइडल मेकअप प्रतिस्पर्धामा प्रथम, द्धितिय र तृतीय हुने प्रतियोगीलाई पुरस्कृत गरिएको छ । बेहुली भएका मोडलहरुले र्याम्प समेत प्रस्तुत गरेका थिए । बिर्तामोड नगरपालिकाका उपमेयर पबित्रा महत्तराको प्रमुख आतिथ्यमा भएको कार्यक्रमलाई नेचर इसेन्स कलर, इसेन्स कस्मेटिक कम्पनीले प्रायोजन गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us