
काठमाण्डु, २७ चैत – नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुले जारी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागीता नजाउने घोषणा गरेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले आफूहरुको माग सम्बोधन नगरेको र सहमति बेगर प्रतियोगिता पोखरामा सारेकाले उनीहरुले यस्तो घोषणा गरेका हुन् ।
बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले आफूहरुले राखेको माग अहिलेसम्म सुनुवायी नभएको र एसिसि प्रिमियर लिग अघि राष्ट्रिय प्रतियोगिता पोखरामा सारिएकाले आफूहरुले प्रतियोगितामा सहभागिता नजनाउने घोषणा गरे ।
राष्ट्रिय टोलिका अधिकांस खेलाडीहरु सशस्त्र प्रहरी र त्रिभुवन आर्मी क्लवमा आवद्व छन्। राष्ट्रिय खेलाडीले नखेले पनि सशस्त्र र आर्मीले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएका छन् ।
खेलाडीहरुले पछिल्लो तीन प्रतियोगितामा सहभागी भएको भत्ता बापत्को रकम र ८ महिनादेखि तलबसमेत नपाएको गुनासो गरेका छन् ।
साथै खेलाडीहरुले क्यानमा नयाँ नेतृत्व आउनु पर्ने माग गरेका छन्।
ट्वान्टि-२० विश्वकप खेलेर आए लगत्तै खेलाडीहरुले क्यानमा आफ्ना माग पेश गरेका थिए। आफ्ना माग कार्यान्वयनमा क्यान उदासिन भएको उनीहरुको आरोप छ ।