लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध : अर्थमन्त्री

काठमाण्डु टुडे २०७० चैत २५ गते ११:३७ मा प्रकाशित

Ramsharan-Mahatकाठमाण्डु, २५ चैत – अर्थमन्त्री डा. रामशरण महतले आर्थिक विकासका लागि लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

भर्खरै निर्माण सम्पन्न भएको नेपाल उद्योग वाणिज्य महासङ्घको प्रेक्षालयको उद्घाटनपछि उनले भने, ‘विद्युत् आपूर्तिको समस्या समाधान गर्न, नीतिगत संरचना तयार पार्न र पूर्वाधार विकासमा लगानी बढाउन सरकार प्रतिबद्ध छ ।’

देशको प्रमुख चुनौती आर्थिक विकास हो, त्यसका लागि क्षमतावान लगानी आवश्यक भएको उनले बताए ।

उनले स्थानीय मुद्रामा अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थालाई ऋणपत्र जारी गर्न पाउने अनुमतिपछि अन्तर्राष्ट्रिय मुद्राले ल्याउने आन्तरिक चुनौतीसँग सामना गर्न र स्थानीय बैंक तथा वित्तीय संस्थालाई अल्पकालीन निक्षेप सङ्कलनबाट दीर्घकालीन लगानी गर्दा आइपर्ने जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले राजनीतिक तथा आर्थिक चुनौतीले निजी क्षेत्रलाई दुई दशकसम्म समस्या सिर्जना गरेको उल्लेख गर्दै आगामी दिनमा त्यसको समाधान हुने उल्लेख गरे ।

कार्यक्रममा महासंघका अध्यक्ष सुरज वैद्यलगायत वरिष्ठ उद्योगीहरूको उपस्थिति रहेको थियो ।

यसैबीच नेपाल आर्थिक पत्रकार समाज (सेजन)द्वारा मंगलबार आयोजित एक कार्यक्रममा उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका अध्यक्ष पदका प्रत्यासीद्वय भाष्करराज राजकर्णिकार र प्रदीपजङ्ग पाण्डेले उदार तथा खुला बजार अर्थनीतिबाट नै दिगो आर्थिक विकास गर्न सकिने बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us