
काठमाण्डु, २३ चैत – ट्वान्टी ट्वान्टी विश्वकपको उपाधि श्रीलंकाले जितेको छ । बंगलादेशमा भएको प्रतियोगिताको फाइनलमा भारतलाई ६ विकेटले हराउँदै श्रीलंकाले पहिलो पटक ट्वान्टी ट्वान्टी विश्वकपको उपाधि जितेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले दिएको १ सय ३१ रनको लक्ष्य श्रीलंकाले १७ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो ।
उसका लागि कुमार सांगाकाराले नटआउट ५२ रन बनाए । यस्तै थिसरा परेराले नटआउट २१ माहेला जयवद्र्धनेले २४ र तिलकरत्ने दिलशानले १८ रनको योगदान गरे । बलिङतर्फ भारतका सुरेश रैना, अमित मिश्रा, रविचन्द्रन आश्विन र मोहित शर्माले समान एक/एक विकेट लिए ।
पहिलो ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १ सय ३० रनको योगफल तयार पारेको थियो ।
उसका लागि विराट कोहलीले सर्वाधिक ७७ रनको योगदान दिए । यस्तै रोहित शर्माले २९ र युवराज सिंहले ११ रन बनाए । बलिङतर्फ श्रीलंकाका नुवान कुलाशेकारा, एंगेलो म्याथ्युज र रंगना हेराथले एक/एक विकेट लिए ।
यो विश्वकपसँगै श्रीलंकाका दुई ब्याट्सम्यान माहेला जयवद्र्धने र कुमार सांगाकाराले भने ट्वान्टी ट्वान्टी क्रिकेटबाट सन्यास लिएका छन् ।