काठमाण्डु, २८ फागुन – उपराष्ट्रपति नन्दकिशोर पुन चलचित्र ‘क्याप्टेन’ हेर्न काठमाण्डुको बिग मुभिज पुगेका छन् । चलचित्र रिलिज भएको दोश्रो सातामा उपराष्ट्रपतिले चलचित्र हेरेका हुन् । चलचित्र हेरिसकेपछि प्रतिक्रिया दिदै उनले भने, ‘चलचित्रले निकै नै उत्कृष्ट कथा उठान गरेको छ । देशलाई माया गर्नेहरुले यो चलचित्र हेर्नुपर्छ भन्ने मलाई लाग्छ ।’
उनले अगाडि भने, ‘यो सिनेमाले देश र राष्ट्रियताको कथा उठान गरेको छ । यो चलचित्रले देशप्रतिको माया जागृत गर्छ । म यो चलचित्र निर्माण गर्ने नायक भूवन केसीलाई बधाई दिन चाहन्छु ।’ यस्तै उप–राष्ट्रपति पुनले नायक अनमोल केसीलाई ‘सुपरस्टार’ भन्दै प्रगतीको शुभकामना दिएका थिए ।
सिनेमाले सम्पूर्ण नेपालीलाई एकतामा बाध्ने प्रयास पनि गरेको छ । खेलमा रुची राख्नेका लागि सिनेमा झन् विशेष छ ।’
पुनले भुवन केसी, शिव श्रेष्ठ, राजेश हमालको सिनेमा पहिला देखि नै हेर्दै आएको र आफ्नो लागि तिनै जना सुपरस्टार रहेको समेत बताए ।
विशेष शोमा बसेर चलचित्र हेरेका शिव श्रेष्ठले पनि क्याप्टेन राम्रो बनेको भन्दै अनमोल केसी र भुवन केसीको मेहनतको प्रसंसा गरे । ‘सिनेमा राम्रो बनेको छ, फुटबलको माध्यमबाट खेलाडीको कथा भनिएको छ,’ उनले भने, ‘चलचित्रले राष्ट्रियता र फुटवलसँग हामीलाई जोड्छ ।’