काठमाण्डु, २७ फागुन – चलचित्र ‘बुलबुल’ अमेरिकामा पनि प्रद्धर्शनमा आउने भएको छ । विगत तीन वर्षदेखि अमेरिकाको मेरिल्यान्डमा हुँदै आएको नेपाल–अमेरिका अन्तर्रा्ष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली चलचित्र ‘बुलबुल’ ओपनिङ चलचित्रको रुपमा प्रदर्शन हुने भएको हो ।
गत सालको संस्करणमा नविन सुब्बा निर्दे्शित फिल्म ‘गुडबाई काठमाडौं’ ओपनिङ चलचित्रका रुपमा प्रदर्शन भएको थियो भने तेस्रो संस्करण आगामी जुन २८ देखि ३० तारिखसम्म मेरिल्यान्डमा हुनेछ ।
चलचित्रका निर्देशक विनोद पौडेलले महोत्सव आयोजकले ‘बुलबुल’लाई पहिलो चलचित्रको रुपमा समावेश गरेको जानकारी दिए । महोत्सवमा मौलिक चलचित्रको प्रदर्शनसँगै नेपाली फिल्मका पात्र र प्रवृत्तिमाथि पनि चर्चा गरिँदै आएको छ ।
रिलिजको दिनदेखि नै हलिउड, बलिउड र नेपालकै पनि ठूला स्टार अभिनित चलचित्रको चपेटामा परेको चलचित्र चौथो हप्तासम्म पनि प्रदर्शन भईरहेको छ ।
नेपाली दर्शकलाई राम्रै रिझाउन सफल चलचित्र ८० लाख लगानीमा बनेको थियो । ‘बुलबुल’ले प्रदर्शनको चौथो हप्तामा डेढ करोड ग्रस गरेको निर्माण टिमले बताएको छ । चलचित्र ‘बुलबुल’ हालै अष्ट्रेलियामा प्रदर्शनका लागि १२ लाखमा बेचिएको निर्देशक पौडेलले बताए ।