मातातिर्थमा सोलार ड्रायर स्थापना

काठमाण्डु टुडे २०७० चैत २२ गते ७:१८ मा प्रकाशित

Solarकाठमाण्डु, २२ चैत – वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक एवम् प्राविधिक सहयोगमा मातातीर्थमा सोलार ड्रायरबाट लप्सीको क्यान्डी सुकाउने प्लान्टको स्थापना गरिएको छ ।

कुल रु १९ लाख ८६ हजार १७८ को लागतमा रत्नपार्क पाउँ भण्डारले सो प्लान्ट स्थापना गरेको हो । आधा रकम केन्द्रले अनुदान उपलब्ध गराएको छ भने आधा रकम कम्पनीले क्लिन इनर्जी डेभलपमेन्ट बैंकबाट लघुकर्जा लिएको छ ।

सार्वजनिक–निजी साझेदारीमा हालसम्म नेपालमा पहिलोपटक स्थापना भएको सबैभन्दा ठूलो यस प्लान्टमा एकैपटक करिब ३०० केजी लप्सी क्यान्डी सुकाउन सकिन्छ ।

सो प्लान्टमा लप्सी सुकाउँदा एक सातामै क्यान्डी तयार हुन सक्दछ । ड्रायरमा सुकाउँदा स्वस्थकर हुनाका साथै स्वादिलो र लामो समयसम्म सुरक्षित राख्न सकिने बताइएको छ ।

सो प्लान्टको शनिबार उद्घाटन गर्दै केन्द्रका कार्यकारी निर्देशक प्रा डा गोविन्दराज पोखरेलले हाम्रोजस्तो कृषिप्रधान देशमा सोलार ड्रायरबाट फलफूल तथा तरकारी सुकाएर खेर जाने वस्तुलाई बजारीकरण गरी राम्रो आम्दानी गर्न सकिने धारणा व्यक्त गरे ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष सुरेश प्रधानले सोलार ड्रायरले गाउँगाउँमा कृषि उद्यमको विकास गरी जनताको जीवनस्तरमा सुधार ल्याउन सकिने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us