
बनेपा, २१ चैत – उद्योग मन्त्री कर्णबहादुर थापाले पाँचखालको विशेष आर्थिक क्षेत्रको काम अविलम्ब कार्यान्वयन हुने बताएका छन् ।
काभ्रेको पाँचखालमा शुक्रबार देखि सञ्चालन भएको पाँचखाल औद्योगिक, कृषि, व्यापार तथा पर्यटन मेलाको उद्घाटन गर्दै उहाँले पाँचखालमा एक हजार रोपनी क्षेत्रमा सञ्चालन हुने भनिएको विशेष आर्थिक क्षेत्रको कार्यक्रममा अनेक उद्योग हुनुका साथै यसमा स्वदेशी लगानीमात्र होइन विदेशी लगानी पनि भित्रिने बताए ।
मन्त्री थापाले मुलुकको औद्योगिकीकरणबिना परिवर्तन सम्भव नभएको उल्लेख गर्दै तरकारीको भण्डारण मानिएको पाँचखालको जगमा उभिएर आत्मनिर्भरतातर्फ अग्रसर हुन आग्रह गरे । विशेष आर्थिक क्षेत्र कार्यक्रमका लागि सरकारले रु २३ करोड बजेट विनियोजन गरेको छ ।
काभ्रे क्षेत्र नं ४ का सभासद् विदुर सापकोटाले विशेष आर्थिक क्षेत्र कार्यक्रमलाई सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । सिँचाइ अभावका कारण यसपालि पाँचखालमा आलुको नोक्सानी भएको पनि उनले बताए ।
उद्योग वाणिज्य संघ काभ्रेका कोषाध्यक्ष वसन्तनारायण भोछिभयाले विशेष आर्थिक क्षेत्रको कार्यक्रम सञ्चालन भए त्यसले दूरगामी परिवर्तन ल्याउने बताए ।
कृषि, पर्यटन, स्थानीय झाँकी झल्काउनेलगायत करिब १५० स्टल रहेको सो मेला आगामी वैशाख २ गतेसम्म सञ्चालन हुनेछ ।