काठमाण्डु, २७ माघ – काठमाण्डु महानगरपालिकाले काठमाण्डु जिल्लाका ९ वटा नगरपालिकालाई प्रतिनगर १ करोडका दरले रकम सहयोग गरेको छ ।
आइतबार राजधानीमा आयोजित कार्यक्रममा महानगरले नगर साझेदारी कार्यक्रमअन्तर्गत नगरपालिकाहरुलाई ९ करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।
महानगरपालिकााक मेयर विद्यासुन्दर शाक्यले काठमाण्डुभित्रका कीर्तिपुर, शंखरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बूढानीलकण्ठ, तारकेश्वर, नागार्जुन, चन्द्रागिरी र दक्षिणकाली नगरपालिकालाई प्रतिनगर १ करोड रुपैयाँ हस्तान्तरण गरे ।
महानगरले उपलब्ध गराएको उक्त रकमबाट सम्बन्धित नगरपालिकाहरुले हरियाली प्रबर्धन, सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माणका लागि खर्च गर्नु पर्नेछ ।
सम्झौताअनुसार कीर्तिपुर नगरपालिकाले ‘युद्ध स्मारक पार्क’ निर्माण गर्नुपर्नेछ । त्यसैगरी शंखरापुर नगरपालिकाले बज्रयोगिनी मन्दिर क्षेत्रमा हरित उद्यान, कागेश्वरी मनोहरा नगरपालिकाले कागेश्वरी मन्दिर र त्यस वरपरको क्षेत्रलाई समेटी पवित्र कागेश्वरी धाम निर्माण गर्नुपर्नेछ ।