पुष्प व्यवसायको सम्भावना बढ्दो

काठमाण्डु टुडे २०७० चैत १५ गते १२:३३ मा प्रकाशित

Flower 1काठमाण्डु, १५ चैत – मुलुकमा विभिन्न किसिमका फूलप्रति सर्वसाधारणको चासो र आकर्षण बढ्दै गएको पाइएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा यही चैत १३ गतेदेखि १६ गतेसम्म भृकुटीमण्डपमा जारी दोस्रो अन्तर्राष्ट्रिय व्यापार मेलामा दर्शकको सहभागिता बढेको छ ।

पुष्प व्यवसायमा संलग्न उद्यमी, व्यवसायी र फूल बिरुवाप्रति अभिरुचि राख्न चाहनेका लागि प्रदर्शनीले ठूलो अवसर जुटाइदिएको छ ।

नेपाल, भारत, बङ्लादेश, जापान, नेदरल्याण्ड, संयुक्त राज्य अमेरिकाका प्रतिनिधिहरूको पनि सहभागिता रहेको सो प्रदर्शनीमा मौसमी र आलङ्कारिक गरी ५०० भन्दा बढी प्रजातिका फूल तथा बिरुवाको बिक्री भइरहेको छ ।

त्यसैगरी नर्सरीलाई आवश्यक पर्ने विभिन्न खालका प्रविधि, बीउ बिजन, मल खाद, कृषि औजार तथा उत्पादनको नेपालमा बजार खोज्न प्रदर्शनीमा सहभागी विदेशी कम्पनीहरू लागिरहेका छन् । यसले पुष्प व्यवसायको सम्भावनामा पनि वृद्धि भएको छ ।

प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ९५ वटा कक्ष रहेको, अहिलेसम्म करिब २० हजार दर्शकले प्रदर्शनीको अवलोकन गरेको र ४० लाखको कारोबार भएको आयोजक संस्थाले जनाएको छ ।

अन्तर्राष्ट्रियस्तरको सो प्रदर्शनी १३ वर्षपछि अहिले नेपालमा आयोजना गरिएको बताइएको छ । उन्नत प्रविधिमा निर्मित ग्रीन हाउस, उपकरण तथा त्यसको प्रयोगसम्बन्धी जानकारी र उच्चस्तरको थोपा सिँचाइ प्रविधिको प्रदर्शनसमेत गरिएको छ ।

कलाकार डाँफू बोहराले सिर्जना गरेका विभिन्न फूलका चित्रहरूले प्रदर्शनीलाई रौनकता थपेको छ । अवलोकनकर्ताहरूले उनको सिर्जनाबाट आकर्षित भई चित्रसमेत खरिद गरिरहेका छन् ।

करिब ६५ वर्ष अघिदेखि सुरु भएको सो पुष्पखेती अहिले विभिन्न ३८ जिल्लामा व्यावसायिक खेतीका रूपमा विस्तार भएको छ । वार्षिक रु एक अर्ब १५ करोडको कारोबार हुने सो क्षेत्रमा स्वदेशी उत्पादनले करिब ८० प्रतिशत माग पूरा गरेको बताइएको छ ।

फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष लोकनाथ गैरेले नेपाली व्यवसायीलाई प्रतिस्पर्धी तथा गुणस्तरीय उत्पादन गर्न प्रदर्शनी उपयोगी हुने भन्दै सरकारले पूर्वाधारको विकास र अत्याधुनिक प्रविधिलाई स्वदेशमा भित्र्याउन सहयोग गर्नुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us