
काठमाण्डु, १५ चैत – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीम आचार्यले पर्यटन प्रवद्र्धनका लागि हवाई सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन लागिएको बताए ।
रिपोटर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा उनले पर्यटन प्रवद्र्धनको दरिलो माध्यम हवाई क्षेत्र भएकाले यसको विकासका लागि कार्ययोजनाका साथ लागिपरेको बताए ।
मन्त्री आचार्यले आगामी सन् २०१९ सम्म नेपालका दुर्गम क्षेत्रमा उडान भर्ने १५ वटा जहाज ल्याउने लक्ष्य रहेको र त्यसलाई कसरी अघि बढाउने भन्नेबारे एक महिनाभित्र व्यावसायिक योजना ल्याइने बताए ।
उनले नेपाल वायुसेवा निगमका १० वर्षदेखि थन्केर बसेका दुई वटा साना जहाज बनाउन लागिएकोले आगामी चार महिनामा सञ्चालनमा आउने जानकारी दिए ।
‘आन्तरिक उडानका लागि अहिले एउटा विमान इन्जिन भाडामा लिएर उडाइरहेका छौँ, दुई वटा बिग्रिएको विमान चार महिनाभित्र बनेर उड्छ । एउटा ठूलो र एउटा सानो विमान एक महिनाभित्र चीनबाट आउँछ, बाँकी तीन जहाज पनि चीनबाट आउने तयारीमा छ । सन् २०१९ सम्ममा चार वटा ठूलो र ११ वटा सानो जहाज बनाएर व्यावसायिक र सेवामूलक क्षेत्रमा चलाउने योजना बनाएका छौँ,’ मन्त्री आचार्यले भने ।
विदेशी जहाजले नेपालको आकाश र बजार ओगटी वर्षको ८७ अर्ब लगेको उल्लेख गर्दै मन्त्री आचार्यले यसलाई मध्यनजर गर्दै आफूले सशक्त खालको विकास योजना अगाडि बढाएको र सन् २०१९ सम्म ठूलो साइजका सात वटा जहाज पु¥याउने लक्ष्य रहेको बताए ।
मन्त्री आचार्यले इयुले नेपाली हवाई उडानको सुरक्षा, चालक र प्राविधिक कमजोरीलाई कारण जनाउँदै कालोसूचीमा राखेकोले त्यसको सुधारका लागि तत्कालै कार्यक्रम अघि बढाइने र सन् २०१४ सम्म नेपाल कालोसूचीबाट हट्ने दाबी गरे ।
हवाई क्षेत्रको उडानलाई सहज, व्यवस्थित र मर्यादित बनाउन एक महिनाभित्र ई–टिकटिङ पद्धति लागू गरिने पनि उनले दिए ।
पर्यटन प्रवद्र्धनका निम्ति महत्वपूर्ण पर्यटन बोर्डलाई सुधार गरी त्यहाँ भइरहेको गुटबन्दी र समस्या समाधानका लागि तत्कालै कदम चालिने बताए ।
फरक प्रसङ्गमा मन्त्री आचार्यले संविधान निर्माणमा पहिलो संविधानसभामा छलफल भएको बिन्दुबाटै छलफल गरेर संविधान निर्माणको कार्य अघि बढाउनुपर्ने भन्दै एक वर्षभित्र संविधान निर्माण गर्न अबको चार महिनामा ड्राफ्ट तयार पार्ने, अर्को पाँच महिनामा जनताको सुझाव लिएर प्रक्रियामार्फत पारित गर्दै जाने बताए ।