धनगढीले भित्र्यायो दुई विदेशी खेलाडी

काठमाण्डु टुडे २०७५ माघ २१ गते ११:२० मा प्रकाशित

काठमाण्डु, २१ माघ – यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताका लागि धनगढी स्टार्सले दुई विदेशी खेलाडी क्लबमा भित्र्याएको छ ।

क्लबले संयुक्त अरब इमिरेट्स (युएइ)का कप्तान रोहन मुस्तफा र भारतका सागर त्रिवेदीलाई आफ्नो टिममा भित्र्याएको जनाएको छ । अलराउन्डर मुस्तफाले युएइ राष्ट्रिय टोलीका लागि २७ एकदिवसीय अन्तर्राष्ट्रिय र २५ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।

सागर त्रिवेदी सन् २०१५ को इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सको लागि छनौट भएका खेलाडी हुन् । उनी पनि अलराउन्डर हुन् । राष्ट्रिय टोलीका रणनीतिक खेलाडी (मार्की प्लेयर) अलराउण्डर सोमपाल कामी रहेको धनगढीमा अन्य खेलाडी पवन सर्राफ, दिपेश श्रेष्ठ, सौरभ खनाल, विपिन खत्री, हरिबहादुर चौहान, अमित श्रेष्ठ, राजु रिजाल, रोविन क्षेत्री, सुनील धमला, सन्दीप रजाली र धिरज छन् ।

प्रतियोगिता टी–२० को आधारमा हुनेछ । लिग चरणमा प्रत्येक टोलीले अरु टोलीसँग एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टोलीको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ । प्रतियोगितामा कुल १९ खेल हुनेछ ।

देशकै सर्वाधिक ठूलो धनराशि पुरस्कारको क्रिकेट प्रतियोगिताको रूपमा २०७३ र २०७४ सालमा डिपिएलको पहिलो र दोस्रो संस्करण भएको थियो । दुवै संस्करणको उपाधि चौराह धनगढी टोलीले जितेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us