लाभांस र बजार मूल्यबाट लगानीकर्ता मालामाल
काठमाण्डु टुडे
२०७० चैत १४ गते १४:२१ मा प्रकाशित
काठमाण्डु, १४ फागुन– सामान्यतः अल्पकालिन लगानीकर्ताहरु कम्पनीको बुक क्लोजपछि आफुसँग रहेको सेयर बिक्री गर्छन्। कम्पनीहरुले दिने प्रतिफलपछि सेयर मूल्य घट्ने भएकोले लगानीकर्ताहरु बुक क्लोजपछि सेयर बिक्री गर्छन्।

बोनस र हकप्रद सेयर दिएको अवस्थामा कम्पनीको सेयर समायोजनपछि मूल्य थप तल झर्छ। तर विगतको यो प्रबृत्तिलाई यसपाली भने लगानीकर्ताहरुले गलत सावित गरिदिएका छन्। यसपटक लगानीकर्तालाई कम्पनीले दिने प्रतिफलबाट मात्र नभएर सेयर मूल्यमा हुने परिवर्तनबाट पनि फाइदा मिलेको छ।
नेपाल ब्रोकर्स एशोसिएसनका पूर्वअध्यक्ष अन्जनराज पौड्याल अघिल्ला बर्षहरुमा अल्पकालिन लगानीकर्ताहरु कम्पनीले प्रतिफल दिएपछि सेयर बेच्न थाल्थे, जसले कम्पनीको प्रभाव अनुसार सेयर मूल्य १५ देखि ३० प्रतिशतसम्म घट्ने गरेको बताउँछन्।
गत साताको अन्तिम दिनसम्मको मूल्यको आधारमा लगानीकर्ताले प्रतिफल प्राप्तअघि हालेको मूल्य असुल भइसकेको देखिन्छ। (बजार हाल केही घटेकोले मूल्यमा केही कमी देखिएको हो ।) नेपाल स्टक एक्सचेन्ज परिसुचक पाँच बर्ष यताकै उच्च विन्दुमा पुगेका कारण पनि वोनस र हकप्रद समायोजनपछि पनि कम्पनीको मूल्य घट्नुको साटो बढेको हो।
गरिमा बिकास बैंक, स्वावलम्बन लघुवित्त बिकास बैंक, नेपाल एसबीआई बैंक र एभेरेष्ट बैंकको बुधवार कायम सेयर मूल्य कम्पनीहरुको बुक क्लोज अघिको मूल्यभन्दा १३ देखि २७ प्रतिशतसम्म बढिसकेको छ।
‘सामान्यतया प्रतिफल दिइसकेपछि बजारमा खासै उतार चढाव देखिदैन्थ्यो तर यो बर्ष संविधान सभाको निर्वाचन र सरकार गठन लगायतको कारण बजारमा उतारचढाव निरन्तर भइरहेको छ,’ पौड्यालले भने, ‘यिनै उतार चढावको क्रममा बजार बुलिश प्रवृत्तिमा देखिएपछि लगानीकर्ताले कम्पनीको प्रतिफलको साथै मूल्य बढेर पनि लाभ लिनसकेका हुन्।’
गरिमा बिकास बैंकले २० प्रतिशत बोनस र दुई बराबर एक अनुपातमा हकप्रद सेयर दिएको थियो। बैंकको हकप्रद र बोनस सेयर समायोजनअघि सेयर मूल्य दुई सय २२ रहेको थियो। समायोजनको कारण मूल्य २६ प्रतिशतले घट्यो।
तर अहिले कम्पनीको मूल्य समायोजन अघिको तुलनामा १५.७६ प्रतिशतले बढिसकेको छ। त्यस्तै, स्वावलम्बन लघुवित्त बिकासले १४ प्रतिशत बोनस सेयर दिएको थियो। बोनस सेयर समायोजन अघि बैंकको सात सय ५० मूल्य रहेको थियो। बैंकको सेयर समायोजन पनि मूल्य १२ प्रतिशतले घटेपनि अहिले समायोजन अघिको मूल्यको तुलनामा २७.३३ प्रतिशतले मूल्य बढेर नौं सय ५५ पुगेको छ।
बिजमाण्डु डटकमबाट