काठमाण्डु, १४ माघ– युएईविरुद्धको तीन एक दिवसीय क्रिकेटको श्रृंखला जित्दै नेपालले इतिहास रचेको छ ।
यूएईले दिएको २५५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ६ विकेटको क्षतिमा ४४.४ ओभरमा लक्ष्य भेटाएको हो । आईसीसीले ४ वर्षका लागि एक दिवसीय क्रिकेटको मान्यता दिएपछि दोस्रो सिरिज खेलेको नेपालले पहिलो उपाधि हात पार्न सफल भयो । यसअघि पहिलो खेल हारेको नेपालले लगातार २ खेल जित्दै सिरिज हात पारेको हो ।
२०१८ को अगष्टमा नेदरल्याण्ड्ससँग सिरिज बराबरी गरेको नेपालले यूएईलाई उसकै मैदानमा तेस्रो तथा अन्तिम खेलमा ४ विकेटको जित निकाल्दै सिरिज जितेको हो ।
नेपालको जितमा पारस खड्काले कप्तानी पारी खेलेका छन् । उनले शतकसहित ११५ रन जोडे । ओपनर विनोद भण्डारी आउट भएपछि क्रिजमा आएका कप्तान खड्काले ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, रोहित पौडेल र आरिफ शेखसँग गतिलो साझेदारी गर्दै शतक बनाए । आईसीसीले मान्यता दिएपछि पारसको यो पहिलो शतक हो । उपकप्तान ज्ञानेन्द्र मल्लले ३५ बलको सामना गर्दा ४ चौकाको मद्दतले ३१ रन बनाए । ज्ञानेन्द्रपछि मैदान उत्रिएका दीपेन्द्रसिंह ऐरी भने १५ बल खेल्दै ६ रनमा सीमित हुँदै बनाएर पेभेलियन फर्किए । पहिलोपटक राष्ट्रिय टिममा डेब्यु गरेका सन्दीप जोराले १९ रनको योगदान गरे ।
यसअघिको खेलमा अर्धशतक बनाउने विश्वकै कम उमेरका खेलाडीमा दर्ज हुन सफल रोहित पौडेलले १६ रन बनाए । १९ बल खेलेका रोहितले एक चौकाको मद्दतले १६ रन जोडे ।
अन्तिममा खेल जिताउन सोमपाल कामी र आरिफ शेख नट आउट रहे । सोमपाल २६ रनमा नट आउट रहँदा आरिफ २१ रनमा नट आउट रहे ।
टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली युएईले निर्धारित ओभरमा ६ विकेट गुमाएर २५४ रन बनाएको थियो ।