‘मिसेस व्यूटी क्वीन’को ताज शान्तिलाई

काठमाण्डु टुडे २०७५ माघ १३ गते १०:४७ मा प्रकाशित

काठमाण्डु, १३ माघ – सफल वैवाहिक जीवनका लागि आपसी समझदारी र एकअर्काको स्वतन्त्रताको सम्मान अति नै आवश्यक हुन्छ भन्ने जवाफ दिएर निर्णायकको मन जित्दै काठमाण्डु धुम्बाराहीकी २९ वर्षीया शान्ति लिम्बूले ‘मिसेस ब्यूटी क्वीन’को ताज पहिरिएकी छन् ।

कमलादीस्थित शनिबार राति प्रज्ञा भवनमा भएको फाइनल प्रतिस्पर्धामा उत्कृष्ट २२ प्रतियोगीलाई पछि पार्दै लिम्बूले ताज जितेकी हुन् । योसँगै उनले ‘पर्सनालिटी अवार्ड’समेत प्राप्त गरिन् ।

सिजन मिडियाको आयोजनामा भएको मिसेस ब्यूटी क्वीन नेपालको दोस्रो संस्करणको प्रतियोगितामा २२ प्रतियोगीमध्ये छानिएका उत्कृष्ट १० आमालाई तपाईंको विचारमा सफल वैवाहिक जीवनका लागि महत्वपूर्ण कुराहरू के हुन सक्छन् भनेर प्रमुख निर्णायक प्रतावराज वन्तले सोधेको जिज्ञासाको जवाफमा प्रतियोगी नम्बर २४ की लिम्बुले भनिन्, ‘मेरो विचारमा सफल वैवाहिक जीवनमा आपसी समझदारी, एकअर्काको स्तन्त्रताको सम्मान, विश्वास, माया, एकअर्काको हरेक कुरामा सहकार्य, यो कुराको कमी भयो भने वैवाहिक जीवनमा हिंसाको बास हुनसक्छ ।’

यही जवाफले आठ निर्णायकको मन जितेर उनले ताज पहिरिनु भएको हो । उनलाई यस अघिकी मिसेस ब्यूटी क्वीन सदीक्षा अर्यालले ताज पहि¥याएकी थिइन् । ताजसँगै उनले नगद रु ५० हजार र स्कुटरसहित दुबई यात्राको दोहोरो हवाई टिकट प्राप्त गरेकी छन् । प्रतियोगितामा काठमाण्डु ज्ञानेश्वरकी ३० वर्षीया मनिशा विमली फष्ट रनर अप र काठमाण्डु सानो भ¥याङ्की ३५ वर्षीया जयन्ती गौतम सेकेन्ड रनर अप हुन सफल भए ।

विमलीेले नगद रु ३० हजारसहित वासिङ मेसिन र दुबईका लागि हवाई टिकट तथा गौतमले नगद रु २० हजार र भ्याकुम क्लिनर तथा दुबईको दोहोरो हवाई टिकट प्राप्त गरिन् । प्रतियोगितामा पूजा रसाईलीले ब्यूटिफूल अर्वाड, शोभा गिरीले कन्फिडेन्ट अवार्ड र सुस्मिता गिरिले एन्जल हर्ट अवार्ड प्राप्त गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us