
वीरगन्ज, १३ चैत – नेपालकै एक प्रमुख राजस्व असुली केन्द्र वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा लक्ष्यभन्दा झन्डै तीन प्रतिशत कम राजस्व असुली गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो आठ महिनाका लागि ५१ अर्ब २६ करोड ४२ लाख राजस्व असुली गर्ने लक्ष्य तोकिएकोमा कार्यालयले उक्त अवधिमा ५० अर्ब छ करोड ८८ लाख राजस्व असुली गरेको छ । यो लक्ष्यको तुलनामा २.३३ प्रतिशतले कमी हो ।
वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिनामा भन्सारतर्फ १९ अर्ब ४९ करोड ४४ लाख राजस्व असुली गर्ने लक्ष्य लिइएकोमा सो अवधिमा कार्यालयले १९ अर्ब १३ करोड ९६ लाख राजस्व असुली गरेको छ । यो लक्ष्यको तुलनामा झन्डै दुई प्रतिशतले कमी हो ।
त्यस्तै मूल्य अभिवृद्धि करतर्फ २२ अर्ब ५१ करोड दुई लाख राजस्व असुली गर्ने लक्ष्य लिएकोमा उक्त अवधिमा २१ अर्ब ७५ करोड १४ लाख मात्र राजस्व असुली भएको छ । यो लक्ष्यको तुलनामा ३.३७ प्रतिशतले कमी हो ।
अन्तःशुल्कतर्फ नौ अर्ब २५ करोड ९६ लाख राजस्व असुली गर्ने लक्ष्य लिइएकोमा लक्ष्यको तुलनामा ०.८८ प्रतिशतले कम अर्थात् नौ अर्ब १७ करोड ७६ लाख मात्र राजस्व असुली गरेको सो कार्यालयले जनाएको छ ।
कार्यालयले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा अन्य शीर्षकमा गरी ९५ करोड १४ लाख राजस्व असुली गरेको छ ।
भारत तथा तेस्रो मुलुकबाट आयात हुने विशेषगरी पेट्रोल, हाइस्पिड डिजेल, एचआर सिट, तयारी कपडा, शृङ्गार र वाहनलगायतका सामानको आयातमा आएको कमीका कारण लक्ष्यको तुलनामा राजस्व असुलीमा केही कमी आएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामहरि अर्यालले बताए ।
लक्ष्यको तुलनामा कम राजस्व असुली गरे पनि गत वर्षको पहिलो आठ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कार्यालयले छ अर्ब ५१ करोड ९६ लाख बढी राजस्व असुली गरेको हो ।