करातेमा जमेकी एक्ली ‘जमुना’

–शेरबहादुर सिंह २०७५ माघ ३ गते १६:२७ मा प्रकाशित

भीमदत्तनगर, ३ माघ – सुदूरपश्चिम प्रदेशमै खेल जगत्मा चिनिएको नाम हो जमुना बस्नेत । सितोरियो करातेका प्रशिक्षक बस्नेत महिला प्रशिक्षकका रुपमा प्रतिनिधित्व गर्ने एक्लो नाम हो ।

विसं २०४८ देखि करातेमा होमिएकी बस्नेतले गाउँ बस्तीमा खेलाडी उत्पादनमा अग्रणी भूमिका निर्वाह गर्दै आएकी छन् । ‘हामीले खेल्दा महिला घरबाट बाहिर जानै हुँदैन भन्ने मानसिकता थियो,’ बस्नेतले आफूले खेल्दाको विगत सम्झिँदै भनिन्, ‘अहिले खेलजगत्मा धेरै परिर्वतन आएकाले सहज भएको छ ।’

सितोरियो करातेकी स्थायी प्रशिक्षक बस्नेतले २०५० सालदेखि निरन्तर रुपमा शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारस्थित खेल प्रशिक्षण केन्द्रमा प्रशिक्षण दिँदै आएकी छन् । झलारीकै कराते प्रशिक्षक दानबहादुर खातीबाट उनले करातेको प्रशिक्षण लिएकी हुन् । उनले २०५८ सालसम्म थुप्रै राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनुका साथै पदक पनि जितिन् ।

‘खेल्न थालेको महीना दिनमै धनगढीमा सम्पन्न आमन्त्रित अन्तर्राष्ट्रिय प्रतियोगितामा रजत पदक जिते,’ बस्नेतले भनिन्, ‘विसं २०५१ मा करारमा प्रशिक्षक नियुक्त भएसँगै खेल्ने र खेलाउने दुवै काम गरेँ ।’ उनकै सिको गरेरै सुदूरपश्चिममा धेरै महिला खेल कराते खेल्न थालेका हुन् ।

झलारी बजार छेउमै रहेको सुनवरा नदीको बगरमा उजले हाल खेलाडीलाई नियमित प्रशिक्षण दिँदै आएक िछन् । खेलबाट परिचय र सम्मान प्राप्त भएको उनि बताउछिन् । ‘खेलकूद अनुशासनको महत्वपूर्ण कडी हो,’ बस्नेतले भनिन्, ‘खेलमा मेहनतअनुसारको फल नपाउने कुरै आउँदैन ।’

पछिल्लो समय जिल्ला खेलकूद विकास समितिको लगानीका कारण खेल मैदानमा सुधार आइरहेको छ । ‘द्वन्द्वकालमा ७०–८० खेलाडी प्रशिक्षणका लागि आउँथे,’ बस्नेतले भनिन्, ‘त्यतिचबेला विभिन्न चुनौतीका बीच ग्रामीण भेगमा बसेर खेल गतिविधि सञ्चालन गर्नुपर्ने बाध्यता थियो ।’

बस्नेतले प्रशिक्षण दिएका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा विभिन्न पदक प्राप्त गरिरहेका छन् । राष्ट्रपति रनिङ शिल्डमा समेत उनकै खलाडीको दबदबा रहने गरेको छ । ‘सेना र प्रहरीमा जागिर खानेको सङ्ख्या धेरै छ,’ उनले भनिन्, ‘खेलेरै बाँच्न नसक्ने भएपछि धेरै खेलाडीले विकल्प खोज्न थालेका हुन् ।’

हरेक दिन प्रशिक्षणमा बिताउँदै आएकी बस्नेतले खेलकूदको विकास गाउँबस्तीतर्फ केन्द्रित हुनुपर्ने बताइन् । ‘खेलमा लगानीको आवश्यकता छ,’ उनले भनिन्, ‘ खेल खलेरै भविष्य बन्छ भनेर खेलाडीलाई आश्वस्त पार्नु जरुरी छ ।’

कराँते प्रशिक्षक विमल खडायत बस्नेतकै कारण करातेमा महिला खेलाडी आकर्षित भएको बताउछन् । ‘दुई दशकअघि करातेप्रति महिलाको आकर्षण कमै थियो,’ उनले भने, ‘समाज र घरपरिवारको चुनौतीको सामना गर्दै जमुना करातेमा समर्पित हुनुभयो ।’

बस्नेतको खेलबाट लोभिएर नै सुदूरपश्चिममा अधिकांश महिला खेलाडी करातेप्रति आकर्षित भएको कराते प्रशिक्षक कर्मबहादुर सिंह बताउछन् । ‘जमुना करातेमा यस प्रदेशकै गौरव गर्न लायक खेलाडी तथा प्रशिक्षक हुन्,’ प्रशिक्षक सिंहले भने । कञ्चनपुरमा हाल झलारीसँगै करीब दुई दर्जन सितोरियो कराते डोजो सञ्चालित छन् । हरेक डोजोमा प्रशिक्षणका लागि आउने खेलाडीमा अधिकांश महिला छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us