‘समर लभ’ हेर्ने एक जोडीले थाइल्याण्ड घुम्न पाउने

काठमाण्डु टुडे २०७५ माघ २ गते १०:४३ मा प्रकाशित

काठमाण्डु, २ माघ – माघ २५ मा रिलिज हुने ‘समर लभ’ सिनेमाले एक जोडीलाई थाइल्याण्ड घुमाउने घोषणा गरेको छ ।

‘समर लभ’ हेर्न हलभित्र प्रवेश गर्नका लागि काटिने टिकटको नम्बरमार्फत् एक जोडीलाई लक्की ड्रबाट विजेता घोषणा गरेर थाइल्याण्ड टुरमा पठाउने निर्देशक मुस्कान ढकालले बताए ।

उनका अनुसार, विजेता घोषित हुनेले सिनेमाको गीत, पोस्टर र ट्रेलर फेसबुकमा अनिवार्य रुपमा शेयर गरेको हुनुपर्ने छ भने सिनेमा हेरेको टिकट साथमा हुनुपर्नेछ ।

साथै, निर्माण टिमले ’मायाको सेल्फी उत्सव’ प्रचार योजना पनि अगाडि सारेको छ । आफ्नो प्रेम वा प्रेमिकासँग खिचेको सेल्फी सिनेमाको फेसबुक पेजमा पठाए विभिन्न उपहारहरु प्रदान गरिने सिनेमाका कार्यकारी निर्माता बिनोद अधिकारीले बताए ।

सोहि नाम लिखित सुबिन भट्टराईको बहुचर्चित प्रेम उपन्यासमा आधारित सिनेमामा आशिष पिया तथा रेवती क्षेत्री प्रमुख भूमिकामा रहेका छन् ।

यी दुईका अलावा सिनेमामा अभिनेत्री नम्रता सापकोटाले सुस्मिताको भूमिका निर्वाह गरेकी छन् । शिशिर भण्डारी, सुरजसिंह ठकुरी, मानसविक्रम थापालगायतका कलाकारको पनि सिनेमामा अभिनय रहेको छ ।

उपन्यासलाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् । सिनेमाको संवाद सुबिन भट्टराई र सामीप्यराज तिमिल्सेना मिलेर लेखेका हुन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको सिनेमामा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us