प्रज्ञा परिषद् सदस्य नियुक्तीमा चलचित्र नृत्य संघको विरोध

काठमाण्डु टुडे २०७५ पुष २७ गते १३:३४ मा प्रकाशित

काठमाण्डु, २७ पुस – नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले गरेको नियुक्तिमाथि नेपाल चलचित्र नृत्य संघले विरोध जनाएको छ । संघले विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले चार वर्षको अन्तरालमा गर्ने नियुक्तीमा कुनै एक क्षेत्रको अवमूल्यन गर्नुलाई ‘रोग’को संज्ञा समेत दिएको छ ।

संघले कुलपति, उप–कुलपति, सदस्य सचिव सहित ६ जना प्रज्ञा परिषद् सदस्यमा १ जना पनि नृत्य विज्ञ नपर्नुमा आपत्ती जनाएको हो । जसका कारण समग्र नृत्यकर्मीहरुको मनोवल गिराउने काम गरेको जनाइएको छ ।

‘जुन क्षेत्रको विकास र उत्थानका लागि स्थापित संस्था हो, सो संस्थामा विज्ञहरुको नियुक्ती हुनुको साटो आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न चम्चा प्रवृतिको नियुक्तिले नृत्य क्षेत्रको विकास हुन सक्दैन’, विज्ञप्तिमा लेखिएको छ ।

संघका अध्यक्ष वसन्त श्रेष्ठले जारी गरेको विज्ञप्तिमा प्रतिष्ठानले तत्काल कदम सच्याउँदै कुलपति, उप–कुलपति, सदस्य वा प्राज्ञ परिषद् सदस्यको पुनः नियुक्तिको माग समेत गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us