६ लाख बढी ग्यास उपभोक्ता कार्ड बजारमा

काठमाण्डु टुडे २०७० चैत १० गते ७:२२ मा प्रकाशित

Lpg-Gass-288x300काठमाण्डु, १० चैत – नेपाल आयल निगमले कार्यान्वयनमा नआए पनि एलपी ग्यासका छ लाख उपभोक्ता कार्ड दर्ता र प्रमाणीकरण गरेर बजारमा पठाइसकेको छ ।

निगमको केन्द्रीय कार्यालय बबरमहलबाट प्रमाणीकरण गरी मुलुकभर सञ्चालनमा रहेका ५३ ग्यास उद्योगले छ लाख पाँच हजार लाख ७८५ उपभोक्ता कार्ड उपभोक्तालाई वितरण गर्नका लागि बुझेर लगिसकेको जनाइएको छ ।

निगमले २०६९ वैशाखमा तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई एलपी ग्यासको उपभोक्ता कार्ड प्रदान गरी वितरण शुभारम्भ गरेको थियो ।

काठमाण्डु उपत्यका बाहिर प्रमाणीकरण गरी उपभोक्तालाई बाँड्ने क्रममा चितवनबाट ३२ हजार र विराटनगरबाट आठ हजार ५७४ कार्ड ग्यास उद्योगीलाई दिइसकिएको निगमले जनाएको छ ।

ग्यास उद्योगमध्ये नेपाल ग्यास उद्योग बालाजुले सबैभन्दा धेरै ६५ हजार ७८४ तथा एनएल ग्यास उद्योग बाराले सबैभन्दा थोरै १९९ थान उपभोक्ता कार्ड वितरणका लागि बुझेर लगिसकेको निगमका उपनिर्देशक दिनेशकुमार यादवले जानकारी दिए ।

निगममा एलपी ग्यास उपभोक्ता कार्ड दर्ता र प्रमाणीकरणका लागि निगमको केन्द्रीय कार्यालयमा हालसम्म छ लाख ४१ हजार १२६ आएकामा छ लाख ३२ हजार दर्ता र प्रमाणीकरण भइसकेको छ । निगमले उपभोक्ता कार्ड कार्यान्वयनमा ल्याउन पटक पटक छलफल गरे पनि कहिलेदेखि लागू गर्ने भन्नेबारेमा अझै अन्तिम निर्णयमा पुग्न सकेको छैन ।

कार्ड कार्यान्वयनमा ल्याउने सन्दर्भमा निगमले घरायसी वा व्यवसायी प्रयोजन केका लागि हो त्यो छुट्याउन रातो र नीलो रङको ग्यास सिलिन्डर वितरणको कार्यको थालनी गरे तापनि कडाइका साथ कार्यान्वयनमा ल्याएको पाइँदैन । नेपालमा अहिले एलपी ग्यासको खपत मासिक रुपमा १७ देखि २२ मेट्रिक टन हुँदै आएको छ ।

तत्काल कार्यान्वयनमा नआए पनि कार्डको दर्ता, प्रमाणीकरण र उद्योगमार्फत उपभोक्तासमक्ष पु¥याइने कामलाई निगमले निरन्तरता दिँदै आएकाले सबै ग्यास उद्योगीलाई थप उपभोक्ता कार्ड सङ्कलन गरी प्रमाणीकरणका लागि निगममा पठाउन सम्पर्कसमेत गरिरहेको यादवले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us