एजेन्सी । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित हात पारेको छ ।
सोमबार बिहान भएको खेलमा बार्सिलोनाले गेटाफेलाई उसैको मैदानमा २–१ गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरे । गेटाफेका लागि जइमी माटाले गोल गरेका थिए ।
खेलको २०औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । सुरुवाती समयदेखि नै दबाब बनाएको बार्सिलोनाले खेलको ३९औं मिनेटमा दोब्बर गोल गर्न सफल भयो ।
यो पटक भने स्वारेजले गोल गरेका थिए । तर ४३औं मिनेटमा माटाले गोल गर्दै गेटाफेलाई २–१ गोलको स्थितिमा पुर्याएका थिए ।
पहिलो हाफमा २–१ गोलअन्तरले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा आफ्नो अग्रतालाई कायमै राख्न सकेपनि थप गोल गर्न भने सकेन ।
जितसँगै लिग लिडर बार्सिलोनाको १८ खेलबाट ४० अंक भएको छ । पराजित गेटाफेको समान खेलबाट २५ अंक छ ।