प्राधिकरणको सञ्चित नाफा ७ अर्बभन्दा बढी

काठमाण्डु टुडे २०७५ पुष २० गते १५:३१ मा प्रकाशित

काठमाण्डु, २० पुस –नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पछिल्ला वर्षमा निरन्तर नाफा आर्जन गर्न सफल भएको छ ।

प्राधिकरणले स्थापनापछि पहिलोपटक आव २०६८/६९ मा नाफा आर्जन गरेको थियो । पछिल्ला वर्षमा पनि निरन्तररूपमा आर्जन गर्दै रु सात अर्बभन्दा बढी नाफा पु¥याएको छ । प्राधिकरणको २०औँ वार्षिकोत्सवका अवसरमा हालै सार्वजनिक गरिएको प्रतिवेदनअनुसार आव २०७३/७४ सम्मको कूल सञ्चित नाफा सरकारलाई बुझाउने लाभांशबापतको रकम कट्टा गरेपछि रु सात अर्ब ३७ करोड ५६ लाख पुगेको छ ।

सो नाफाको आधारमा महालेखा परीक्षकबाट प्रमाणित आव २०७२–७३ सम्मको वित्तीय विवरणबमोजिम सरकारको शेयर लगानीको लाभांशबापत छुट्याइएको रकम रु एक अर्ब ६३ करोड ५६ लाख भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आव २०७४/७५ मा रु छ अर्ब २३ करोड ५९ लाख आम्दानी गरेको छ । उक्त आवका लागि प्राधिकरणको आय विमानस्थल विकास शुल्कबाहेक रु पाँच अर्ब ४९ करोड ४३ लाख प्रक्षेपण गरेकोमा रु ७४ करोड १६ लाख वृद्धि भई रु छ अर्बभन्दा बढी आम्दानी गर्न सफल भएको हो ।

चालू आव २०७५/७६ मा प्राधिकरणले रु ३८ अर्ब ११ करोड ६९ लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटमध्ये पूँजीगत खर्चतर्फ ३४ अर्ब २५ करोड चार लाख तथा कार्य सञ्चालनतर्फ रु तीन अर्ब ८६ करोड ६५ लाख निर्धारण गरिएको छ ।

आव २०७४/७५ मा क्यानले पूँजीगत खर्चतर्फ रु ३२ अर्ब ६५ करोड १४ लाख र कार्य सञ्चालनतर्फ रु तीन अर्ब ५३ करोड १५ लाख गरी जम्मा रु ३६ अर्ब १८ करोड २८ लाख व्यय अनुमान गरिएकोमा पूँजीगत खर्च १७ अर्ब तीन करोड ९४ लाख र कार्य सञ्चालन खर्च रु दुई अर्ब २२ करोड ८० लाख गरी जम्मा रु १९ अर्ब २६ करोड ७५ लाख खर्च भएको क्यानले जनाएको छ ।

चालू आव २०७५/७६ को स्रोततर्फ आम्दानी रु पाँच अर्ब ९६ करोड ९३ लाख, विमानस्थल विकास शुल्क रु दुई अर्ब ६४ करोड ५० लाख एवं ऋण, शेयर तथा अनुदानबाट रु २० अर्ब ८५ करोड गरी जम्मा रु २९ अर्ब ४६ करोड ४३ लाख हुने अनुमान गरिएको क्यानले जनाएको छ ।

प्राधिकरणले मूल्यअभिवृद्धि कर, साँवा ब्याज भुक्तानी र लाभांशबापतको रकम गरी जम्मा रु तीन अर्ब २४ करोड ८९ लाख सरकारलाई भुक्तानी गरी राजश्वमा उल्लेखनीय योगदान गरेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us