
पर्वत, ८ चैत – निजी क्षेत्रको पहलमा निर्माण गरिएको मुलुककै पहिलो व्यावसायिक यान्त्रिक पुल कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले एक वर्षमा सवा करोडभन्दा बढी आम्दानी गरेको छ ।
केबलकार मोडलमा निर्माण भएको कुश्मा–बलेवा यान्त्रिक पुल नियमितरुपमा सञ्चालनमा आएको एक वर्षको अवधिमा एक करोड २६ लाख आम्दानी गरेको हो । पुलले टिकट बिक्री र भाडा तथा ब्याजबाट सो आम्दानी गरेको जनाएको छ ।
यान्त्रिक पुल २०६९ फागुन २१ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको हो । यस अवधिमा सबै खर्च कटाएर रु एक करोड १६ लाख बचत भएको यान्त्रिक पुल लिमिटेडले जनाएको छ ।
पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको दक्षिण क्षेत्र बलेवा जोड्ने गरी पर्वत उद्योग वाणिज्य सङ्घको पहलमा यान्त्रिक पुल निर्माण भएको हो । पुल निर्माणका लागि ४५८ जना सेयर सदस्यको रु चार करोड ८४ लाख १७ हजार ५०० सेयर लगानी रहेको लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।
यान्त्रिक पुल सञ्चालनमा आएपछि दुई घण्टाको पैदल दूरी चार मिनेटमा पार गर्दै आएका छन् । यस क्षेत्रका बासिन्दाका साथै आन्तरिक र बाह्य पर्यटकको समेत घुइँचो लाग्दै आएको छ । दुईवटा यान्त्रिककार जडान भएको उक्त यान्त्रिक पुलमा एउटा कारमा आठ जना मानिस अट्न सक्ने क्षमता रहेको छ । कम्पनीले प्रत्येक यात्रुका लागि पाँच लाख बराबरको बिमा गरेको छ ।
यसैबीच कुस्मा–बलेवा यान्त्रिक पुल लिमिटेडको प्रथम साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले उद्घाटन गर्दै प्रजिअ ढकालले निजी क्षेत्रले नमुना काम गरेको बताए । साधारणसभाले सेयर सदस्यलाई आर्थिक वर्ष २०७०/७१ को लेखापरीक्षण गरी आगामी साउनमा लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
बलेवाको प्रसिद्ध भैरवस्थानसम्म केबलकार विस्तार गर्न सम्भाव्यता अध्ययन गर्ने निर्णयसमेत गरेको छ । पाल्पाका राजा मणिमुकुन्द सेनसँग झगडा गरेर उहाँका भाइले पाल्पाकी भगवतीलाई स्थापना गरेको उक्त मन्दिरमा बर्सेनि हजारौँ श्रद्धालु पुग्ने गर्छन् ।
भैरवस्थानसम्म करिब साढे दुई किलोमिटर लामो केबलकार निर्माण गर्न सकिने सम्भावना छ । स्विट्जरल्यान्डको प्रविधिमा निर्माण गरिने पुलका लागि करिब १२ करोड खर्च लाग्ने अनुमान छ ।
यसैगरी यान्त्रिक पुलले जोडेको बलेवामा सुविधा सम्पन्न रिसोर्ट निर्माण गर्ने योजना पनि साधारणसभाले पारित गरेको छ । त्यस क्षेत्रमा व्यवस्थित पार्क र वनभोजस्थलसमेत निर्माण गरिने भएको छ ।
दुई दशकदेखि बन्द भएको बलेवा विमानस्थल सुचारु गर्न सरोकारवालासँग छलफल गर्ने निर्णय भएको महासचिव केदारनाथ शर्माले बताए ।