विराटनगर, ७ चैत – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सरकारले आगामी जेठ महिनाभित्रमा स्थानीय निकायको निर्वाचन सम्पन्न हुने गरी मितिको घोषणा गर्नुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकारले २०५५ सालको स्थानीय निकायको ऐन संशोधन गरी जेठ महिनाभित्रै स्थानीय निकायको चुनाव गरिसक्नुपर्नेमा जोड दिए ।
पोखरेलले सबै दलहरुले दोस्रो संविधानसभा निर्वाचनको घोषणापत्रमा छ महिनाभित्रमा स्थानीय निकायको निर्वाचन गराउने प्रतिबद्धता गरे पनि निर्वाचन पश्चात बोली फेरेको आरोप लगाए ।
साथै उनले सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेको खण्डमा पार्टीको आगामी महाधिवेशनको मिति सर्नेसमेत बताएका छन् ।