स्याङ्जा, ७ चैत – सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी नहुँदासम्म मुलुकमा देखिएको अन्योलता कायमै रहने बताए ।
स्याङ्जाको सदरमुकाम पुतलीबजारमा रहेको सामुदायिक रेडियो स्याङ्जाको तेस्रो अधिवेशनको शुक्रबार उद्घाटन गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री डा रिजालले सरकारले सहमति, सहकार्य र एकताबाटै संविधान निर्माणका लागि वातावरण तयार पारिरहेको उल्लेख गरे ।
नेपाली काँग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाले आफनो राजनीतिक यात्रालाई दाउमा राखेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतका नेतालाई १२ बुँदे सम्झौतामा ल्याई मुलुकमा शान्ति प्रक्रियाको सूत्रपात गराएको स्मरण गर्दै सञ्चारमन्त्रीले त्यो इतिहासलाई नबिर्सन एमाओवादी तथा माओवादीका नेतालाई आग्रह गरे ।
सो अवसरमा सभासद्द्वय कमलप्रसाद पङ्गेनी र राजु थापा, लगायतले लोकतान्त्रिक संविधान बने मात्रै स्वतन्त्र र निष्पक्ष सञ्चारको विकास हुने धारणा राखे ।