
काठमाण्डु, ७ चैत – गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
गोरखा फुजेल–६, का ७४ वर्षीय छविलाल पौडेल र उनका भतिजा ४२ वर्षीय भीमसेन पौडेललाई चितवन र काठमाण्डुबाट पक्राउ गरिएको हो ।
गएराति ११ बजे रत्ननगर नगरपालिका–११ बाट भीमसेनलाई र काठमाडौंको मनमैंजुस्थित घरबाट छविलाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
काठमाण्डुबाट पक्राउ गरिएका छविलालाई पनि चितवन लगिँदैछ ।
अनशन तोडाउने प्रधानमन्त्रीको प्रयास विफल
छोराको हत्यारालाई कारबाहीको मागसहित अनसनरत अनशनरत गोरखाका अधिकारी दम्पत्तीको अनशन तोडाउने प्रधानमन्त्री सुशील कोइरालाको प्रयास असफल भएको छ ।
करिब ४ महिनादेखि वीर अस्पतालमा अनशनरत अधिकारी दम्पत्तीको अनशन तोडाउन कोइराला शुक्रबार वीर अस्पताल पुगेका थिए ।
छोराका हत्यारालाई कारबाही नगरेसम्म अनशन नतोड्ने उनीहरुको अडानपछि कोइरालाको प्रयास विफल भएको हो । सो अवसरमा प्रधानमन्त्री कोइरालाले हत्यारालाई कारबाही गर्ने आश्वासन दिएका थिए ।
द्वन्द्वकालमा तत्कालीन विद्रोही माओवादीका कार्यकर्ताबाट हत्या गरिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।