काठमाण्डु, चैत्र ६ गते देशमा पछिल्लो समय बढ्दै गरेको हिंसात्मक आन्दोलनको विरोधमा युवाहरुले अब सकारात्मक सन्देश प्रवाह गर्नका लागि पनि मोटिभेशनल युथ मुभमेन्ट चलाउनु पर्ने बताएका छन ।
युथ मुभमेन्टका संयोजक सन्तोष अधिकारीले देशमा पछिल्लो समय बढ्दै गएको हिंसात्मक आन्दोलनलाई सदाका लागि त्याग्दै, नयाँ सन्देश दिनका लागि पनि युथ ह्याभ चेन्जड् भन्दै मोटिभेशनल मुभमेन्ट चलाउनु पर्ने बताएका हुन ।
काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै, अधिकारीले भने–आन्दोलनका नाममा हुने विभिन्न खाले हिंसाले यदि कसैलाई क्षति पुगेको छ भने नेपाली जनतालाई नै पुगेको छ । यस्ता खाले राजनीतिक संरक्षणमा हुने र गरिने सवै खाले आन्दोलनलाई सदाका लागि अन्त्य गर्नुपर्छ ।
उनले पछिल्लो समयमा सरकारले जनताको ढाड सेक्ने गरि मुल्यवृद्धि गरेको भन्दै, जनताको बलबाट शक्तिमा पुग्ने नेताहरुले नै जनताका आधारभुत समस्याहरुमा खेलेको आरोप लगाए । अधिकारीले यसको विरोधका लागि पनि अव नेपाल बन्द नभई नेता बन्द गर्नुपर्ने बताए । कार्यक्रममा सरकारले हालै गरेको मुल्यवृद्धि यथाशिघ्र फिर्ता लिनको लागि पनि युथ मोटिभेशनल मुभमेन्टले ६ दिने अल्टिमेटम समेत दिएको छ ।
शुरुको चरणमा राजधानीबाट थालिने यस मुभमेन्टमा चार सय भन्दा बढी युवाहरुको सहभागिता रहने जानकारी दिदै विभिन्न पार्टीका विधार्थी भातृ संगठनहरुका नेतालाई समेत दलगत स्वार्थबाट माथि उठेर राष्ट्रिय हित र नेपाली जनताको भलाईका लागि पनि यस अभियानमा सहभागि हुन आग्रह समेत गरे ।
त्यस्तै पत्रकार सम्मेलनमा युथ मुभमेन्टका प्रवक्ता ज्ञानेन्द्र गजुरेलले देशमा कुनै पनि किसिमका हिंसात्मक आन्दोलन हुन नहुने भन्दै मोटिभेशनल मुभमेन्ट मार्फत नै अव अगाडी बढ्नुपर्ने बताए । मुल्यवृद्धि लगायतका जनतासँग जोडिएका प्रत्यक्ष सरोकारका विषयमा पनि अव नेपाल बन्द नगरी नेता बन्द गर्नुपर्ने धाराणा समेत राखे ।
मुल्यवृद्धि अन्त्यका लागि सडकमा नभई नेताको घरमा गई धर्ना दिनुपर्ने धारणा राख्दै गजुरेलले भने –हामी पेट्रालियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता गर्नका लागि शुरुमा संसद घेराउ, प्रधानमन्त्री कार्यालय घेराउ, अर्थ–मन्त्रालय घेराउ र आयल निगम घेराउ जस्ता कार्यक्रम अगाडी ल्याउँछौं । यसका लागि युवाहरु एकजुट हुन जरुरी छ । बन्दका नाममा अब नेपाली जनतालाई कुनै पनि किसिमको दुःख दिईनु हुँदैन ।