३३ दलीय मोर्चाले घोषणा गरयो संघर्ष

काठमाण्डु टुडे २०७० चैत ६ गते १०:१७ मा प्रकाशित

Dev-Gurungकाठमाण्डु ६ चैत नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा संघर्षको घोषणा गरेको छ । माओवादी केन्द्रीय कार्यालय बुद्धनगरमा बिहिवार बसेको मोर्चाको कार्यदलको बैठकले संघर्षका कार्यक्रमको घोषणा गरेको हो ।
मोर्चाले चैत्र १ गते ३३ दलको बैठक बसी पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्ने र कार्यदलले आन्दोलनको ठोस कार्यक्रमहरु तय गरी जारी गर्ने निर्णय गरेको थियो । मोर्चाका तर्फबाट माओवादी नेता देव गुरुङका अनुसार चैत ७ गते देशका प्रमुख शहरहरुमा विरोध प्रदर्शन र सभा गर्ने, काठमाण्डुमा अपरान्ह ४ बजे शान्तिवाटिकामा विरोध प्रदर्शन र जनसभा गर्ने कार्यक्रम छ ।
त्यसैगरी काठमाण्डुमा सिंहदरबार अगाडि भद्रकालीमा चैत ९ गते अपरान्ह ४ देखि ५ बजेसम्म धर्ना दिने,राजधानीबाहिरका जिल्लाहरुमा प्रशासन कार्यालय अगाडि धर्ना दिने कार्यक्रम मोर्चाले घोषणा गरेको छ । ती कार्यक्रममा ३३ दलका अतिरिक्त सम्बन्धित वर्गीय तथा जनसङ्गठन र मोर्चाहरुलगायत सबैले आ–आफ्ना ब्यानर, झण्डा र प्लेकार्डहरु लिई व्यापक रुपमा जनसहभागी गराउने निर्णय पनि कार्यदलले गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us