मूल्य वृद्धि फिर्ताको माग गर्दै संसद अवरुद्ध

काठमाण्डु टुडे २०७० चैत ६ गते ६:१९ मा प्रकाशित

ca house

काठमाण्डु, ६ चैत – पेट्रोलियम पदार्थमा पछिल्लो पटक भएको मूल्यवृद्धिले व्यवस्थापिका–संसद्को बैठक विहीबार पनि सुचारु हुन सकेन ।

व्यवस्थापिका–संसद्को बैठक प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादी लगायतका प्रतिपक्षी दलहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिएसम्म बैठक सुचारु गर्न नदिने भनी विरोध जनाएपछि बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भयो ।

सभामुख सुवासचन्द्र नेम्वाङले बैठक सुरु भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षीसहितका दलका सभासद्हरु उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख नेम्वाङले एमाओवादीका सभासद् गिरीराजमणि पोखरेललाई बोल्नका लागि समय दिए ।

सभासद् पोखरेलले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक दूध, चिनी, पानी लगायतमा गरिएको मूल्यवृद्धिबाट आम सर्वसाधारण र विद्यार्थी महँगीको चपेटामा परेको भन्दै सो निर्णय फिर्ता नलिएसम्म बैठक सञ्चालन हुन नसक्ने संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए ।

पेट्रोलियम पदार्थको विषयमा तत्कालीन, मध्यकालीन र दीर्घकालीन सोचसहित पाइला चाल्न प्रतिपक्षका हैसियतले सरकारलाई सुरुदेखि नै सुझाव दिएकोमा त्यसको विपरीत सरकारले कार्य गरेकाले सो निर्णय फिर्ता नभएसम्म संसद्को कुनै पनि गतिविधि अगाडि नबढाउन उनले माग गरे ।

सभासद् पोखरेलको भनाइ सकिनासाथ सभामुख नेम्वाङले उनले उठाएका विषयप्रति सरकारलगायत सबै प्रतिपक्षी दलका सदस्यहरुलाई ध्यानाकर्षणमा लिन आग्रह गर्दै यो अवस्थामा बैठक अगाडि बढ्ने अवस्था नदेखिएकाले अर्को बैठक दिउँसो २ बजेबस्ने गरी स्थगित भएको जानकारी गराए ।

निर्धारित समयभन्दा ४५ मिनेट ढिलो अर्थात् ११.४५ मा सुरु भएको बैठक करिब पाँच मिनेटमात्र चलेको थियो । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने माग राख्दै प्रतिपक्षी दलले विगत तीन दिनदेखि संसद्को बैठक अवरुद्ध पार्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us