नियमावली मस्यौदामाथि संविधानसभामा छलफल

काठमाण्डु टुडे २०७० चैत ५ गते १०:४५ मा प्रकाशित

Biccकाठमाण्डु, ५ चैत – संविधानसभा नियमावली २०७० र संविधानसभा व्यावस्थापिका–संसद्को कार्य सञ्चालन नियमावली २०७० को मस्यौदा प्रतिवेदनमाथि बुधबार संविधानसभामा सामान्य सैद्धान्तिक छलफल भएको छ ।

छलफलमा भाग लिने सभासद्ले एक वर्षभित्रै संविधान जारी हुनुपर्ने, संविधानसभामा दलीय आधारका साथै सभासद्को सार्वभौम अधिकार प्रयोग हुनुपर्ने, गत संविधानसभामा प्रवेश नभएका नयाँ विषय पनि छलफलमा आउनुपर्ने गरी नियमावलीलाई अन्तिम रुप दिन सुझाव दिए ।

नेकपा एमालेका भरतमोहन अधिकारीले संविधानसभा आफैंमा सार्वभौम भएकाले यो अन्य कुनै संविधान र कानुनबाट निर्देशित नहुने उल्लेख गर्दै प्रधानमन्त्रीले मासिक र मन्त्रीहरुले पाक्षिक रुपमा संसद्समक्ष जनसरोकारका विषयमा आवधिक जानकारी दिने प्रावधान राख्न आग्रह गरे ।

नेपाली काँग्रेसका गगन थापाले संविधानसभाले आफ्नो कार्य प्रारम्भ विगतमा भएको सहमतिको बिन्दु वा अन्य जुनसुकै बिन्दुलाई आधार मानेर गर्न सक्ने बताउँदै जनआन्दोलनको उद्देश्य र निर्वाचनको जनादेशअनुसार बहुमतका आधारमा लिइने निर्णय नै सार्वभौम हुने भएकाले प्रस्तावित नियमावलीका विषय सान्दर्भिक भएको धारणा राखे ।

उनले प्रस्तावित क्षमता अभिवृद्धि तथा स्रोतसाधन समितिको औचित्य प्रस्ट नभएको धारणा राख्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका कमल थापाले एक वर्षभित्र संविधान जारी गर्ने सरल र सहज बाटो अवलम्बन नगरी नयाँ विषय प्रवेश गराउने ढोका सङ्कुचित गर्नेगरी मस्यौदा प्रतिवेदन आएको टिप्पणी गरे ।

उनले प्रक्रियागत समितिभन्दा विषयगत समिति गठन गरिनुपर्ने र निक्र्यौल नभएका विषयमा जनमत सङ्ग्रहमा पनि जान सकिने प्रावधान हुनुपर्ने धारणा राखे ।

बैठकमा भीम रावल, कुन्तीकुमारी शाही, कृष्णभक्त पोखरेल, भरतकुमार साह, विशेन्द्र पासवान, प्रेमबहादुर सिंह, अमनलाल मुदी, श्रीप्रसाद जगेबु, अशोककुमार राई रञ्जित विके, हरिचरण साह, प्रतिक्षा तिवारी, धनीराम पौडेल, रामकुमार राई, मनमोहन भट्टराई, चुडामणि विके ‘जङ्गली,’ चन्द्रकान्त भण्डारी, सिपी मैनाली, आशा कोइराला, रामनारायण बिडारी, गोपाल दैत, एकनाथ ढकाल, जीतेन्द्र देव, चित्रबहादुर केसी, कृष्णकुमारी साह, अनिता परियार, नविन्द्रराज जोशी, नारायणमान विजुक्छे, गणेशमान पुन लगायतले छलफलमा भाग लिइ मस्यौदा माथि आ–आफनो धारणा राखेका थिए ।

संविधानसभाको बैठक लम्बिएपछि दिउँसो १ बजेका लागि बोलाइएको व्यवस्थापिका–संसदको बैठक बस्न ढिलाई भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us