कञ्चनपुर– कञ्चनपुरका १९ वटै गाविस कार्यालयमा इन्टरनेट सेवा विस्तार गरिएको छ । मानव विकास तथा सामाजिक सुरक्षा परीक्षण कार्यक्रमअन्र्तगत गाविस कार्यालयहरुमा इन्टरनेट सेवा विस्तार गरिएको हो ।
विश्व बैंकको सहयोगमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको संलग्नतामा यहाँका १९ वटै गाविसमा एक वटा कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन सौर्य पाता र इन्टरनेट नेटवर्किङको व्यवस्था गरिएको कार्यक्रमका सामाजिक सुरक्षा सहायक विसनदेव जोशीले बताए ।
‘सबै गाउँ विकास समितिमा कम्प्युटर र इन्टरनेटको व्यवस्था गरी व्यवस्थापन सूचना प्रणालीको आधारमा सूचना तथा लगत कम्प्युटरमा अभिलेखीकरण गरी गाविसको कार्य सम्पादनमा सहजता ल्याउने कार्यक्रमको उद्देश्य रहेको छ’ उनले भने ।
यहाँका सबै गाविसमा कम्प्युटरको व्यवस्थापन गरेकाले भविष्यमा व्यवस्थापन सूचना प्रणालीमा राखिएका घरधुरी सर्वेक्षणबाट आएका सूचनालाई गाविस आफँैले निरन्तर रुपमा व्यवस्थित गर्दै जाने व्यवस्था मिलाइने कार्यक्रमका सामाजिक सुरक्षा सहायक जोशीले उल्लेख गरे ।
यसैगरी, सामाजिक सुरक्षा कार्यक्रमअनुसार घरधुरी दर्ता तथा पारिवारिक विवरण सङ्कलन कार्य सम्पन्न भई सङ्कलित विवरण कम्प्युटरमा प्रवेश गर्ने कार्य सम्पन्न गरिएको उनले बताए ।
कार्यक्रमअनुसार चालु आवमा गरिबीको सूचीमा परेका यहाँका १७ हजार ५०० विद्यालय जाने उमेरका बालबालिकालाई छात्रवृत्ति प्रदान गर्नका लागि बैंकमा खाता खोल्ने कार्य सुरु गरिएको छ ।
विपन्न घरधुरी मापन प्रक्रिया, लक्षित वर्ग पहिचानभन्दा भिन्न रही विपन्नताका आधारमा लाभान्वित वर्ग पहिचान गरी विद्यालयमा पहुँच नभएका तर विद्यालय जाने उमेर पुगेका (६–१५ वर्ष) का बालबालिकालाई शिक्षामा पहुँच अभिवृद्धि गर्न छात्रवृत्ति प्रदान गरिन लागेको बताइएको छ ।