एसएलसीमा तीन तहको अनुगमन व्यवस्था

काठमाण्डु टुडे २०७० चैत ५ गते ८:३२ मा प्रकाशित

SLC-Nepal_20120615094302बागलुङ, ५ चैत – बिहीबारदेखि सुरु हुने प्रवेशिका परीक्षालाई मर्यादित बनाउन जिल्लामा तीन तहको अनुगमन व्यवस्था मिलाइएको छ ।

अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन जिल्ला शिक्षा कार्यालयले यो वर्षदेखि उच्चस्तरीय परीक्षा अनुगमन समिति, जिल्लास्तरीय अनुगमन समिति र क्षेत्रीय परीक्षा अनुगमन समिति गरी तीन तहमा अनुगमन हुने व्यवस्था मिलाएको हो ।

माध्यमिक शिक्षा अनुगमन समिति र परीक्षा समन्वय समितिको निर्णयअनुसार यस्तो व्यवस्था गरिएको जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले बताए । जिल्लाका सबै परीक्षा केन्द्रको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय परीक्षा अनुगमन समिति गठन गरिएको छ ।

केन्द्रका अधिकृत र जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र अनुसन्धान कार्यालयका अधिकृत सम्मिलित १४ सदस्यीय जिल्लास्तरीय परीक्षा अनुगमन समिति गठन गरिएको हो ।

त्यस्तै जिल्लाका ३० परीक्षा केन्द्रलाई विभिन्न नौ भागमा विभाजन गरेर क्षेत्रीय परीक्षा अनुगमन समिति पनि गठन गरिएको छ । ती सबै केन्द्रमा खटिने गरी ६० जना अनुगमनकर्ता तोकिएका छन् ।

जसमा बुर्तिवाङ, ग्वालीचौर, गलकोट, बिहुँ, बागलुङ नगरपालिका, बागलुङ नगरपालिका दुई, बलेवा, कुश्मिसेरा र बरेङ क्षेत्र छुट्टाएर क्षेत्रीय परीक्षा अनुगमन समिति गठन गरिएको छ ।

बागलुङमा यो वर्ष ३० वटा परीक्षा केन्द्र तोकिएको छ । सात हजार दुई सय ६ जना परीक्षार्थीले प्रवेशिका परीक्षा दिने कार्यालयले जनाएको छ । नियमिततर्फ चार हजार ९९७ र एक्जाम्टेडतर्फ दुई हजार २०९ परीक्षार्थी सहभागी हुनेछन् ।

जिल्लाको नारायणस्थान गाविसमा रहेको जनताधन उच्चमाविबाट दुई जना दृष्टिविहीन विद्यार्थीले परीक्षा दिने जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत रामप्रसाद शर्माले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us