काठमाण्डु, ५ चैत – पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा एमाओवादी निकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मा भोक हड्तालमा बसेका छन् ।
प्रहरीले गिरफ्तार गरेर महानगरीय प्रहरी बृत्त कमलपोखरीमा राखेका शर्माले प्रहरी हिरासतमै भोक हड्ताल सुरु गरेका हुन् । शर्मालाई बिहान प्रहरीले पक्राउ गरेको थियो ।
हिरासतमा रहेका शर्मालाई प्रहरीले खाना खान आग्रह गरेपनि अस्विकार गरेका थिए । शर्माले मूल्य वृद्धि फिर्ता नभएसम्म भोक हड्ताल जारी रहने बताए ।
उनलाई प्रहरीले रिहा गरे पनि पक्राउ परेका सबैलाई छोड्नु पर्ने माग गर्दै रिहा हुन मानेनन् । प्रहरीले पक्राउ गरेका १ सय ५६ जनालाई नै रिहा नगरी अाफूपनि रिहा नहुने उनको अडान छ ।
नेतृत्वको दवावका कारण सत्तारुढ काँग्रेस निकट नेपाल विद्यार्थी संघ र एमाले निकट अनेरास्ववियु आन्दोलनबाट पछि हटेपछि क्रान्तिकारीसहितका अन्य विद्यार्थी संगठनले आन्दोलन थप चर्काउने तयारी गरेका छन् ।
पहिलो चरणको आन्दोलन आज सकिने भएकाले थप आन्दोलन घोषणा गर्ने उनीहरुको तयारी छ । सरकारले केही दिन अघि पेट्रोलमा १० तथा डिजेल र मट्टितेलमा ६/६ रुपैयाँ मूल्य वृद्धि गरेको थियो । त्यसको केही दिन अघि दूधको मूल्य समेत बढेको थियो ।
काँग्रेस–एमाले गठबन्धनमा सरकार गठन भएसँगै भएको श्रृंखलाबद्ध मूल्य वृद्धिका कारण जनता मारमा परेका छन् ।