आन्दोलन फिर्ता गराईदिन प्रचण्ड र झलनाथलाई प्रधानमन्त्रीको आग्रह

काठमाण्डु टुडे २०७० चैत ५ गते ६:३३ मा प्रकाशित

Prachanda-Sushil-Koirala-and-Jhalanath-Khanalकाठमाण्डु, ५ चैत – प्रधानमन्त्री सुशील कोइरालाले पोट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोधमा भइरहको आन्दोलन स्थगित गराइदिन एमाओवादी र एमालेका अध्यक्षलाई आग्रह गरेका छन् ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनालसँग बुधबार भेटेर कोइरालाले विद्यार्थीहरुको आन्दोलन स्थगित गराइदिन आग्रह गरेका हुन् ।

जवाफमा प्रचण्डले आन्दोलन जारी रहने बताए । जनताको ढाड सेक्नेगरी भएको मूल्य वृद्धि फिर्ता लिन उनले कोइरालालाई आग्रह गरेको स्रोतले बतायो । ‘तपाईंहरुले तत्काल मूल्य वृद्धि फिर्ता लिनुस्, अन्यथा आन्दोलन जारी रहन्छ ।’ प्रचण्डले कोइरालासँग भनेको स्रोतले जानकारी दियो ।

भेटमा एमाले अध्यक्ष खनालले भने आफ्नोतर्फबाट आन्दोलन नगर्ने विश्वास दिलाएका थिए । सुरुमा मूल्य वृद्धिको विरोधमा सत्तारुढ काँग्रेस–एमालेका भ्रातृसंगठनहरु पनि आन्दोलनमा उत्रिएपनि नेतृत्वको दवावका कारण पछि हटेका छन् ।

एमाओवादी निकट अखिल क्रान्तिकारीसहित अन्य संगठनहरुले भने आन्दोलन जारी राखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us