काठमाण्डु, ४ चैत – पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको मागसहित आन्दोलनरत विद्यार्थी संगठनहरु र सरकारी टोलीबीचको वार्ता विफल भएको छ ।
सरकारी पक्षले मुल्य वृद्धि पूर्ण रुपमा फिर्ता लिन नसकिने अडान राखेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो ।
बाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारी टोलीले मूल्य वृद्धि फिर्ता केही प्रतिशत फिर्ता लिन सकिने संकेत गरेपनि पूर्णरुपमा फिर्ता लिन नसक्ने अडान लिएको थियो ।
वार्ता पछि अखिल क्रान्तिकारीका उपाध्यक्ष जागृत रायमाझीले वार्ता विफल भएको जानकारी दिए । ‘उहाँहरु मूल्य वृद्धि फिर्ता लिन सहमत हुनु भएन,’ काठमाण्डु टुडेसँग रायमाझीले भने, ‘अब आन्दोलनबाटै फैसाला हुन्छ ।’
मूल्य वृद्धिको विरोधमा भोलिका लागि आह्वान गरिएको उपत्यका वन्द जारी रहने उनले बताए । साथै विद्यार्थीहरुले सोमबार साँझ राजधानीमा मसाल जुलुस निकाल्दै छन् ।
वार्तामा आपूर्तिसचिव माधवप्रसाद रेग्मी नेतृत्वको सरकारी टोली र आन्दोलनरत विद्यार्थी संगठनका प्रतिनिधि सहभागी थिए । सरकारले केही दिनअघि पेट्रोलमा प्रतिलिटर १ र डिजेल तथा मट्टितेलमा ६र६ रुपैयाँ मूल्यवृद्धि गरेको थियो ।