काठमाण्डु, ४ चैत – सरकारले न्यूनतम साझा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
सिंहदरबारस्थित हर्क गुरुङ हलमा विशेष समारोहकाबीच सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेका हुन् ।
संयुक्त सरकार सञ्चालन लागि सहमतिका साझा न्यूनतम कार्यक्रममा १४५ बुँदा, आचारसंहितामा १३ बुँदा र सरकार सञ्चालनको कार्यविविधिमा १० बुँदा छन् ।
कार्यक्रममा एक वर्ष भित्र संविधान जारी गर्न समन्वयात्मक भूमिका निर्वाह गर्ने कामलाई उच्च प्राथमिकतामा राख्दै स्थानीय निकायको निर्वाचनलाई जोड दिइएको छ ।
संघीय संरचना अन्तर्गतका निकायहरु गठन नहुन्जेलका लागि दलहरुसंग परामर्श गरी स्थानीय निकाय निर्वाचनको मिति घोषणा गरिने उल्लेख छ ।
शान्ति प्रक्रियाको बाँकी सबै कामलाई प्राथमिकता दिंदै संवैधानिक निकायमा रिक्त पदहरुमा यथासिघ्र पदपूर्ति गरिने सरकारले आफ्नो साझा कार्यक्रममा समेटेको छ ।
लोडसेडिङ कम गर्ने कामलाई सरकारले उच्च प्राथिमकतामा राखेको भन्दै साँझको समयमा घरेलु प्रयोगका लागि विद्युत आपूर्तिको प्रयास गरिने पनि दावी गरिएको छ ।
साथै सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरुको आचारसंहिता र सरकार सञ्चालनको कार्यविधिसमेत सार्वजनिक गरेको छ ।
रिजालले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा वृद्ध, विधवालगायतलाई सामाजिक सुरक्षा भत्ता थप गर्ने, बैंकबाटै भत्ता को व्यवस्था गर्ने, गैरआवासी नेपालीलाई नेपालमा लगानी गर्ने वातावरण बनाउने लगायतका विषयहरुसमेत समेटिएका छन् ।
न्यूनतम साझा नीति तथा कार्यक्रमको पूर्णपाठ